प्रधानमन्त्री ओलीको भनाइ: “सगरमाथाको नाम सगरमाथा नै हो, माउन्ट एभरेष्ट नक्कली नाम हो”


काठमाडौं, वैशाख १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको अन्तर्राष्ट्रिय नाम ‘माउन्ट एभरेष्ट’ नक्कली भएको भन्दै यसको वास्तविक र प्रामाणिक नाम ‘सगरमाथा’ नै हुनुपर्ने स्पष्ट पारेका छन्। एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, “माउन्ट एभरेष्ट नाम नक्कली हो, सगरमाथाको अर्को नाम छैन। हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा।”

उनको यो भनाइले नेपाली राष्ट्रियता, इतिहास र पहिचानप्रति गहिरो सम्बन्ध रहेको संकेत गर्छ। प्रधानमन्त्री ओलीले सगरमाथा केवल नेपालको गौरव नभई, विश्वकै सर्वोच्च शिखरको नाम नेपाली भाषामा नै कायम रहनु आवश्यक रहेको धारणा व्यक्त गरे।

सगरमाथा (८,८४८.८६ मि) संसारको सर्वोच्च शिखर हो जसलाई विश्वभर ‘Mount Everest’ भनेर चिनिन्छ। ब्रिटिश सर्वेक्षक जर्ज एभरेष्टको नाममा यसलाई सन् १८६५ मा अंग्रेजी नाम दिइएको थियो। तर नेपालले सन् १९५६ मा यसलाई ‘सगरमाथा’ नामकरण गर्‍यो, जुन हालसम्म नेपाली भाषामा आधिकारिक नामका रूपमा मानिन्छ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई केहीले राष्ट्रिय गर्वको स्वरूप मानेका छन् भने केहीले अन्तर्राष्ट्रिय मान्यतालाई नजरअन्दाज गर्न नहुने बताएका छन्। त्यसैबीच, सामाजिक सञ्जालमा उनको भनाइको समर्थन र आलोचना दुवै देखिएको छ।

यो भनाइले सगरमाथाको नाम र पहिचानको विषयमा पुनः बहस चर्किएको छ। सरकारले भविष्यमा यस विषयमा औपचारिक नीतिगत निर्णय लिन्छ कि लिदैन भन्ने चासो पनि बढेको छ।


प्रकाशित मिति : २०८२ बैशाख १९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार