आहा! रारा पोखरा गोल्डकप – उद्घाटन खेल आयोजक र पुलिसबिच हुने


पोखरामा अर्को साता सुरु २४ औं आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक सहारा क्लब पोखराले माघ २२ देखि संचालन हुने आहा रारा पोखराको बिहीवार टाइसिट सार्वजनिक गरेको हो ।

ए डिभिजन, भारत, युके, उजेकिस्तान तथा अन्य गरि १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ ।

फागुन ३ गते हुने फाइनलअघि माघ ३० गते पहिलो सेमिफाइनल र १ गते फागुनमा दोस्रो सेमिफाइनल हुनेछ ।
समूह ‘ए’ तर्फ आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब र युकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् ।

समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्री स्टार र उजेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्री स्टार र उजेकिस्तानले सिधैं क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् । आहाको विजेताले १२ लाख र ६ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।


प्रकाशित मिति : २०८१ माघ १८, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार