१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि मौसम खराबी कारण आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्याउन नसक्दा उद्धार कार्य प्रभावित आयोजनाले जनाएको छ ।
कम्पनीका सचिव नरनाथ न्यौपानेका अनुसार सम्पर्कविहीन हुनेमा नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीनवटा ठेकेदार कम्पनीका ३९ जना छन्
विशेषगरी विद्युतगृह (पावरहाउस) भित्र रहेका कर्मचारीहरूको अवस्थाबारे अझै यकिन हुन नसकेको उनको भनाइ छ ।
उनीहरूको उद्धारका लागि सुरुङभित्र थुप्रिएको भग्नावशेष (मलवा) हटाउन आवश्यक मिनी एक्स्काभेटर, ३० केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइपलगायतका उपकरण केही दिनअघि नै नुवाकोटको बट्टारस्थित मैथली आर्मी क्याम्पमा पुर्याइएको थियो
तर, नेपाली सेनाको उद्धार टोलीले आयोजनास्थलको रेकी गर्दा पावरहाउस अगाडिको भूभाग नदीले थप कटान गरेको र ठूलो हेलिकप्टर (एमआई–१७) अवतरण गर्न सक्ने अवस्था नरहेको जानकारी गराएको न्यौपानेको भनाइ छ ।
ठूलो हेलिकप्टरबाट उपकरण लैजान नसकिने भएपछि कम्पनीले सानो क्षमताको जेनेरेटर खरिद गरेर कम तौलका उपकरण आयोजनास्थल पुर्याउने प्रयास गरेको थियो । ६.५ केभीए डिजेल जेनेरेटर, सबमर्सिबल पम्प, होज पाइप तथा विद्युतीय सामग्री मंगलबारदेखि पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो ।
कम्पनीका अनुसार ती सामग्री शुक्रबार बिहान ११:२० बजे धुन्चे पठाइएको छ । त्यहाँबाट पावरहाउससम्म सामग्री लैजान सकिने अवस्था नबनेको कम्पनीले जनाएको छ ।
कम्पनीले पावरहाउसबाहिर सम्पर्कविहीन भएकाहरूको खोजीका लागि भने निजी क्षेत्रबाट समेत जनशक्ति परिचालन गरेको छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनसँग सम्बन्धित दक्ष तथा अनुभवी रक क्लाइम्बर परिचालन गर्न कम्पनीले हिमालय समिट क्लब प्रालिसँग सम्झौता गरी टिमुरेमा खोजी गरिरहेको बताए । आज अर्को हेलिकप्टरबाट घट्टे खोला गई उक्त क्षेत्रमा खोजी कार्य गर्ने तयारी थियो । तर मौसमका कारण हेलिकप्टर उड्न नसक्दा टोली घट्टेखोलासम्म पुग्न सकेको नसकेको उनको भनाई छ ।
उद्धार कार्यका लागि कम्पनीले बट्टार, धुन्चे र पावरहाउस क्षेत्रमा छुट्टाछुट्टै जनशक्ति तयारी अवस्थामा राखेको छ । बट्टारमा सिनियर इन्जिनियरसहित दुई जना, धुन्चेमा दुई जना इन्जिनियर र पावरहाउस उद्धार टोलीलाई विद्युतीय जडानमा सहयोग गर्न एक जना इलेक्ट्रिकल ओभरसियर तयारी अवस्थामा छन् ।
धुन्चेमा नेपाली सेनाको विशेष उद्धार टोलीसमेत आवश्यक टुल्स तथा उपकरणसहित पावरहाउसतर्फ परिचालनका लागि तयारी अवस्थामा रहेको कम्पनीले जनाएको छ । तर मौसम अनुकूल नहुँदा अहिलेसम्म टोलीलाई पावरहाउसतर्फ लैजान उडान हुन नसकेको बताए ।
यसबीच कम्पनीले सम्पर्कविहीन कर्मचारीका परिवार तथा आफन्तलाई घटनाको अवस्थाबारे नियमित जानकारी दिन ह्वाट्सएप समूहसमेत बनाएको छ । खोजी तथा उद्धारका क्रममा प्राप्त विवरण, प्रयास र उपलब्ध सूचनाबारे परिवारलाई जानकारी गराउने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

