खोज तथा उद्धार र पुनर्निर्माण समन्वयका लागि ऊर्जा मन्त्रालयले रियल टाइम अपडेट सिस्टम बनाउँदै


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार, राहत तथा पुनर्निर्माणको अवस्थाबारे तत्काल जानकारी प्राप्त गर्न रियल टाइम अपडेट सिस्टम निर्माण थालेको छ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटका लागि सूचना प्रणाली बनाउन निर्देशन दिएका हुन्।

मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो। अब भने मन्त्रालयअन्तर्गतका प्रभावित जलविद्युत् आयोजना तथा साइटमा भइरहेको कामको वास्तविक विवरण प्राप्त गर्न आफ्नै सूचना प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार प्रभावित १६ जलविद्युत् आयोजनामा सुरुङभित्र र बाहिर रहेका श्रमिक तथा कर्मचारीको अवस्था, उद्धारको प्रगति, सामग्री परिचालन, समन्वय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको सहभागितासम्बन्धी विवरण प्रणालीमार्फत अभिलेख तथा अनुगमन गरिनेछ।

“कुन-कुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङभित्र र बाहिर कति छन् ? प्रभावित १६ वटा आयोजनामा कहाँ-कहाँ रेस्क्यु अपरेसन भइरहेको छ ? कति जनाको बाहिर उद्धार गरियो ? भित्रको प्रयास के-के हुँदैछ ? त्यसमा सामग्रीको मोबिलाइजेसन कसरी भइरहेको छ ? कोसँग कोअर्डिनेसन भइरहेको छ ? सामग्री बाटोमा छ कि ठाउँमा पुगिसक्यो ? राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपर्टलाई पनि यसमा जोड्न सक्ने एउटा मेकानिजम बनाउँदैछौँ,” शाक्यले भने।

उनका अनुसार बाढी आएको पहिलो दिनदेखि पाँचौँ तथा छैटौँ दिनसम्म भएका खोज, उद्धार तथा अन्य गतिविधिको समयसहित अभिलेख राख्ने कामसमेत भइरहेको छ।

मन्त्रालयका अनुसार बाढीबाट ४०० मेगावाटभन्दा बढी अर्थात् कुल विद्युत् आपूर्तिको करिब १० प्रतिशत क्षमतामा असर परेको छ। प्रभावित विद्युत् संरचनाको पुनर्निर्माण तथा विद्युत् आपूर्ति प्रणालीलाई सामान्य अवस्थामा फर्काउन एसएमटीमार्फत काम अघि बढाइएको छ।


प्रकाशित मिति : २०८३ भाद्र १५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार