काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्गका रूपमा रहेको कान्ति राजमार्ग यतिबेला उपत्यका छिर्ने र बाहिरिने सवारी साधनको मुख्य छनोटमा परेको छ ।
कान्ति राजमार्ग सडक योजनाका अनुसार पृथ्वी राजमार्ग बन्द भए लगत्तै साना तथा मझौला सवारी साधनहरू कान्ति राजमार्गमा मोडिएका छन् । हेटौँडाबाट भैँसे, टिकाभैरव र भैँसेपाटी हुँदै ललितपुरको एकान्तकुना जोड्ने यो मार्गमा सवारी साधनको लामो लस्कर देखिएको छ । सडक योजनाले सार्वजनिक गरेको दृश्यहरूमा सवारी साधनहरू निरन्तर सुचारु भइरहेको देखिए पनि चापका कारण यात्रामा केही समय लाग्ने देखिएको छ ।
धादिङको कृष्णभिर र परेवाभिर क्षेत्रमा त्रिशूली नदीले सडकको जग नै काटेपछि र माथिबाट पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । यो सडक खण्ड मर्मत गरी सुचारु गर्न प्राविधिक टोली खटिए तापनि तत्कालै सञ्चालनमा आउने सम्भावना कम रहेकाले तत्कालका लागि वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याइएको छ ।
सडक विभागले कान्ति राजमार्गका अतिरिक्त अन्य तीन वटा मार्गहरूलाई पनि विकल्पका रूपमा प्रयोग गर्न सुझाव दिएको छ ।
त्रिभुवन राजपथ (वीरगन्ज–हेटौँडा–पालुङ–नौबिसे हुँदै कलंकी), बीपी राजमार्ग (बर्दिबास–सिन्धुली–खुर्कोट–धुलिखेल हुँदै काठमाडौँ) र हेटौँडा–कुलेखानी–फर्पिङ मार्ग (हेटौँडाबाट कुलेखानी र दक्षिणकाली हुँदै काठमाडौँ) वैकल्पिक मार्ग सञ्चालनमा छन् ।
सडक विभागले कान्ति राजमार्ग लगायतका वैकल्पिक सडकहरूमा सवारी चाप बढेकाले संयमित भएर गाडी चलाउन चालकहरूलाई आग्रह गरेको छ । वर्षातको समयमा ग्रामीण भेगका सडकहरूमा पहिरोको जोखिम हुनसक्ने भएकाले ‘सडक सूचना’ र ट्राफिक प्रहरीको अपडेट लिएर मात्र यात्रा तय गर्न विभागले सबैमा अनुरोध गरेको छ ।

