तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सुचारु


मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते। प्रतिकूल मौसमका कारण तीन महिनादेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा सोमबारदेखि सुचारु भएको छ। निरन्तरको वर्षाका कारण दृश्यता (भिजिबिलिटी) कम भएपछि जेठको तेस्रो सातादेखि स्थगित गरिएको हवाई सेवा सोमबार निजी वायुसेवा कम्पनी समिट एयरले पुनः सञ्चालन गरेको हो।

जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार सोमबार पोखराबाट समिट एयरका तीनवटा उडान भएका छन्। उहाँले भन्नुभयो, “अब नियमित उडान हुन्छ। हवाई मार्गबाट आउने अधिकांश यात्रु भारतीय हुने गरेका छन्।”

सोमबार पोखराबाट ४३ जना भारतीय तीर्थयात्री हवाई सेवामार्फत मुस्ताङ पुगेका छन् भने तीन जना यात्रु पोखरा फर्किएको जोमसोम विमानस्थलले जनाएको छ।

त्यसैगरी, हिन्दु तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि काठमाडौँबाट विभिन्न कम्पनीका आठवटा हेलिकोप्टरमार्फत तीर्थयात्री मुस्ताङ आएका छन्। जोमसोममा यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले भने नियमित उडानको कार्यतालिका सार्वजनिक गरेको छैन।

वर्षमा करिब छ महिना मात्रै उडान हुने जोमसोममा वर्षायाम र जाडोयाममा हवाई सेवा नियमित हुँदैन। आपत्कालीन तथा चार्टर उडान भने आवश्यकताअनुसार हुने गरेको छ। वर्षायाममा खराब मौसमसँगै पर्यटकको चहलपहलसमेत घट्ने गरेको छ।

जोमसोममा वायुसेवा कम्पनीले ट्विनअटर विमानमार्फत यात्रु ओसारपसार गर्दै आएका छन्। अत्यधिक हावाहुरी र प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम उडान सामान्यतया बिहानको समयमा मात्र सञ्चालन हुने गरेको छ।

छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले हवाई मार्ग रोज्ने गरे पनि पछिल्लो समय सडक सञ्जाल सहज बनेपछि हवाई यात्रुको चाप घटेको छ।

मुस्ताङमा निजी वायुसेवा कम्पनीबाहेक नेपाली सेनाले आफ्ना सामग्री ढुवानी तथा चार्टर उडानसमेत गर्दै आएको छ। मुस्ताङका धार्मिकस्थल भ्रमणका लागि हेलिकोप्टरबाट आउने पर्यटकसँग अनिवार्य रूपमा एक जना सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था रहेको जनाइएको छ।


प्रकाशित मिति : २०८३ भाद्र ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार