मुक्तिनाथ (मुस्ताङ), भदौ ७ गते । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार बिहान ९ः५० बजे मुस्ताङबाट काठमाडौँ फर्किनुभएको छ। शनिबार राति पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्नुभएका प्रधानमन्त्री शाह एक रात मुस्ताङमा बसेर फर्किनुभएको हो।
मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री शाह घरपझोङ गाउँपालिका–३, जोमसोम बजारस्थित मुस्ताङी तथा थकाली मौलिक संस्कृति झल्किने परम्परागत वास्तुकलामा निर्मित होटल ओम्स होममा बस्नुभएको थियो। पाँच दशकअघिदेखि विष्णु राज र श्रीमती लालकुमारी हिराचनले सञ्चालन गर्दै आउनुभएको उक्त होटलमा प्रधानमन्त्री शाहले एक रात बिताउनुभएको थियो।
परिवारसहित मुक्तिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री शाहले शनिबार साँझ मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो। उहाँले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीबाट टीका तथा प्रसादसमेत ग्रहण गर्नुभएको थियो।
पूजाअर्चना सम्पन्न गरी प्रधानमन्त्री शाह शनिबार राति करिब ८ः४५ बजे मुक्तिनाथ मन्दिरबाट फर्किनुभएको थियो। त्यसपछि उहाँ कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड हुँदै फर्किनुभएको हो। म्याग्दी क्षेत्रमा जिल्ला प्रशासन कार्यालय म्याग्दीले आवश्यक सुरक्षा व्यवस्था सुदृढ पारिएको छ।
प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमण पारिवारिक भ्रमणका रूपमा रहेको र यस क्रममा कुनै अतिरिक्त औपचारिक कार्यक्रम नरहेको स्रोतले जनाएको छ।

