काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना (साउन) मा नेपालको अटोमोबाइल बजारमा मिश्रित उत्साह देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा कार, जिप र भ्यानको आयातमा उल्लेख्य वृद्धि देखिएको छ भने दुईपाँग्रे सवारी साधनको आयातमा सामान्य गिरावट आएको छ ।
तर, दुवै क्षेत्रमा विद्युतीय सवारी साधन (ईभी) प्रतिको आकर्षण भने निकै बलियो देखिएको छ । साउन महिनामा कुल ९८७ युनिट कार, जिप र भ्यान नेपाल भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २४ प्रतिशत (१९० युनिट) ले बढी हो । गत वर्ष साउनमा ७९७ युनिट कार भित्रिएका थिए
कुल आयातित कारमध्ये विद्युतीय कारको हिस्सा सबैभन्दा ठूलो छ । विभागका अनुसार साउनमा ६८९ युनिट विद्युतीय कार आयात भएका छन् । जुन गत वर्षको १६० युनिटको तुलनामा ४ गुणाले बढी हो । यसका साथै साउनमा २१९ युनिट पेट्रोल, ५६ युनिट डिजेल र २३ युनिट प्लग–इन हाइब्रिड कार आयात भएका छन् ।
आयात मूल्य र राजस्व चारपाँग्रे
२ अर्ब १९ करोड रुपैयाँ कुल आयात भएको छ भने सरकारलाई कुल राजस्व संकलन २ अर्ब ४४ करोड रुपैयाँ भएको छ । जसमा पहिलो साउन महिनामा विद्युतीय कार मात्र १ अर्ब ६१ करोडको आयात हुँदा सरकारलाई १ अर्ब ६ करोड राजस्व संकलन भएको विभागले जनाएको छ ।
त्यस्तै, पेट्रोल-डिजेल कार मात्रै ४४ करोड ८५ लाखको आयात हुँदा सरकारलाई १ अर्ब ९ करोड राजस्व संकलन भएको छ । त्यस्तै, नेपालमा हाइब्रिड कार मात्रै १३ करोडको आयात भएको छ भने त्यसबाट सरकारलाई २९ करोड राजस्व संकलन भएको विभागले जनाएको छ ।
भदौमा आयोजना हुने नाडा अटो शो र साउनमा भएको नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी व्यवसायीहरूले ठूलो संख्यामा नयाँ ईभी ब्राण्ड र मोडलहरू भित्र्याएका कारण कार आयातमा वृद्धि देखिएको हो ।
दुईपाँग्रे सवारीः २८ हजार युनिट आयात, ई–स्कुटरमा नयाँ रेकर्ड
दुईपाँग्रे सवारी साधनतर्फ भने साउनमा केही गिरावट देखिएको छ । साउन महिनामा कुल २७ हजार ८०६ युनिट मोटरसाइकल र स्कुटर आयात भएका छन् । यो गत वर्षको सोही महिना (३० हजार ८७ युनिट) को तुलनामा ७.५२ प्रतिशत अर्थात् २,२६२ युनिटले कम देखिएको छ ।
दुईपाँग्रेमा पनि विद्युतीय स्कुटरको आयातले नयाँ रेकर्ड कायम गरेको छ । पहिलो पटक एकै महिनामा ५ हजार १७४ युनिट विद्युतीय दुईपाँग्रे सवारी भित्रिएका छन् । कुल दुईपाँग्रे आयातमा विद्युतीयको हिस्सा १८.६० प्रतिशत पुगेको छ ।
जसमा कुल आयात ४ अर्ब रुपैयाँ (अनएसेम्बल र तयारी दुवै) रहेको छ भने त्यसबाट सरकारलाई ३ अर्ब ४८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । साउनमा आयात भएका दुईपाँग्रेमध्ये ८० प्रतिशतभन्दा बढी अनएसेम्बल रहेको विभागले जनाएको छ । हाल नेपालमा बजाज, टीभीएस, यामाहा, होण्डा, रोयल इनफिल्ड, हिरो र सीएफमोटो जस्ता ब्राण्डहरूले स्थानीयस्तरमै एसेम्बल गर्दै आएका छन् ।

