निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरेको छ।
सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाएको हो। मागअनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ।
अर्थात सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको नीतिमा रोक लागेको हो।
चैत १८ गते सरकारी विज्ञापन तथा सूचनाहरू संचार माध्यममार्फत प्रकाशन तथा प्रसारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह तथा सो अन्तर्गतका निकायहरू तथा सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरूले आफ्ना सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन तथा सरकारी स्वामित्वमा रहेका संचार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरी सबै निकायमा परिपत्र समेत गरेको थियो।
उक्त परिपत्र सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको थियो। उक्त निर्णयविरूद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट चैत २३ गते दायर गरेका थिए। सोसाइटी राष्ट्रिय दैनिक लगायतका प्रमुख सञ्चार माध्यमका प्रकाशकहरूको संस्था हो।
रिटमा सरकारको निर्णय तथा परिपत्र उत्प्रेषणको आदेशले बदर गरी अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने, कुनै पनि तवरले कमजोर बनाउने कार्य नगर्नू/नगराउनू भनी प्रतिषेधको परमादेश माग गरेको थियो।

