लालपुर्जा र नागरिकताको माग गर्दै सुस्तावासी काठमाडौंमा


लामो समयदेखि नेपाली भूमिमा बसेर पनि पहिचान र स्वामित्वबाट बञ्चित रहेका पश्चिम नवलपरासीको सुस्ताका स्थानीय बासिन्दाहरू लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै काठमाडौं आइपुगेका छन्।

आफ्नो थातथलोको सुरक्षा र राज्यबाट पाउनुपर्ने आधारभूत अधिकारको ग्यारेन्टी गर्न माग गर्दै उनीहरू काठमाडौं आएका हुन्।

पीडित सुस्तावासीहरूले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरू गरेका छन्।

नेपाल र भारतबीचको सीमा विवादका विषयमा केही समयअघि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र त्यसलगत्तै मन्त्रीस्तरबाट आएको वक्तव्यका कारण सीमा क्षेत्रमा तनाव बढेको सुस्तावासीको भनाइ छ।

उक्त राजनीतिक र कूटनीतिक अभिव्यक्तिका कारण सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) बाट आफूहरूले थप दुःख, सास्ती र मानसिक तनाव झेल्नुपरेको गुनासो उनीहरूले गरेका छन्।

राज्यस्तरबाट हुने छलफल र अभिव्यक्तिको प्रत्यक्ष असर आफूहरूले भोग्नुपरेको भन्दै उनीहरूले स्थायी समाधानका लागि दबाब दिन काठमाडौंको यात्रा तय गरेका हुन्।

पुस्तौंदेखि माटोको रक्षा गरेर बस्दा पनि आफ्नै देशमा शरणार्थी जस्तो हुनुपरेको, हातमा लालपुर्जा र नागरिकता नभएको तथा सीमाको सुरक्षा गर्दा उल्टै भारतीय सुरक्षाकर्मीको ज्यादती सहनुपरेको पीडा आन्दोलनकारीहरूले पोखेका छन्।

उनीहरूले सुस्ता क्षेत्रमा बसोबास गर्ने योग्य नेपाली नागरिकलाई तत्काल नेपाली नागरिकता प्रदान गर्नुपर्ने र भोगचलन गर्दै आएको जमिनको वैधानिक स्वामित्व (लालपुर्जा) हस्तान्तरण गर्नुपर्ने मुख्य माग राखेका छन्।

साथै, सीमा क्षेत्रमा नेपाली नागरिकमाथि हुने भारतीय सुरक्षाकर्मीको थिचोमिचो बन्द गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको माग छ।


प्रकाशित मिति : २०८३ असार १६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार