११ असार, धनकुटा । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार धनकुटा ७ वटा स्थानीय तहमध्ये एउटा स्थानीय तहले बजेट ल्याउन सकेन ।
धनकुटाका छ वटा स्थानीय तहले भने आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा काम विशेषले काठमाडौ जान परेकोले निर्धारित समयमा बजेट प्रस्तुत गर्न नसकिएको जनाएको छ ।
असार १० गते भन्दा अगाडी नै धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाले बजेट ल्याइसकेका थिए भने महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका, चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटअनुसार धनकुटा नगरपालिकाले सबैभन्दा ठूलो अर्थात् ७६ करोड ८६ लाख २३ हजार रुपैयाँको र सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेका छन् ।
यसैगरि महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार रुपैयाँको, पाख्रिबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार ९ सय ९७ रुपैयाँको, चौविसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार ४ सय ४५ रुपैयाँको र साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार रुपैयाँ अनुमानित आयव्यय सार्वजनिक गरेका हुन् ।
महालक्ष्मी नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको नगर प्रमुख ध्रुवराज रायले जानकारी दिए । पाख्रीबास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका साथै अपांगता रोकथाम, मलामी खर्च विपन्न परिवारलाई उपचार खर्च सहायतालाइ प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत सुनिल पौडेलले बताए ।
चौविसे गाउँपालिकाले पनि कृषि, शिक्षा, र पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ । यस्तै साँगुरीढी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिए ।

