नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्ने धारणा राखेका छन्।
१३७ औं मे दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले एमालेले यसअघि सरकारमा रहँदा राज्यको नीति, रोजगारदाता र श्रमिकबीच संवाद, सहकार्य र सहअस्तित्वको बाटोमा अघि बढाएको बताएका छन्।
‘हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीच सन्तुलनको लागि यही निर्देशक सिद्धान्त अपनाएका छौं। र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौं। राज्यमा मानव गरिमाको रक्षा गर्न, श्रमिकहरूको सुरक्षा र सम्मान कायम गर्न उनीहरूको विश्वव्यापी अधिकार सुनिश्चित हुनु पर्दछ,’ उनले भनेका छन्।
उद्योग चलोस्, रोजगारी बढोस्, श्रमिक सुरक्षित होऊन्, नाफाको न्यायोचित वितरण होस् र देश समृद्ध बनोस् भन्ने एमालेको ध्येय रहेको भन्दै उनले संविधानले तय गरेको यो सीमाबाट आज पनि राज्य विचलित हुनुनहुने बताएका छन्।
‘जहाँ श्रमिक सम्मानित हुन्छ, त्यहीँ समाज समृद्ध हुन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना,’ उनले भनेका छन्।

