नेपाली कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका सन्दर्भमा विभिन्न निर्णयहरू गरेको छ।
समितिको बुधबारको बैठकले ६ वटा निर्णय गरेको हो। महामन्त्रीसमेत रहेका क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यताबारे विभिन्न निर्णय गरेको समिति सदस्य एवं सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्ने घोषणा गरेको छ भने वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने तयारी गरेको छ।
यस्ता छन् निर्णयहरू-
१. १५ औं महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिष्टममा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिष्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा मिति २०८३/१/१६ गते देखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियाशील इन्ट्री गर्ने समय दिने निर्णय गरियो।
२. १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण गरी अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समिति र अधिवेशन हुन नसकेका जनसम्पर्क समितिहरुलाई वर्गीकरण गरी सम्वन्धित जनसम्पर्क समितिको समस्या पहिचान गरी समाधान गर्ने र अधिवेशन भइसकेका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरूको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम अद्यावधिक गर्ने। केन्द्रीय कार्यालयको डिजिटल सिष्टममा इन्ट्री नभएका जनसम्पर्क समिति मार्फत दिइएका क्रियाशील सदस्यहरूको हकमा मिति २०८३ वैशाख १६ गते देखि १ हप्ताका लागि नवीकरण र नयाँ क्रियाशील इन्ट्री गर्ने समय दिने निर्णय भयो। यसका लागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको मितिदेखि डिजिटल प्रणाली खुला गरिनेछ।
३. जनसम्पर्क समितिको हकमा योभन्दा अगाडिको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेको व्यवस्था बमोजिम अनलाइन क्रियशील सदस्यता भर्ने व्यवस्थालाइ निरन्तरता दिने। यसरी भरेको क्रियाशील अनलाइन फारम सम्बन्धित देशको जनसम्पर्क समिति अध्यक्षलाई जानकारी गराइनेछ। अनलाइन सदस्यता खुला गरेको जानकारी नेपाली कांग्रेसको वेवसाइटमा राखिनेछ।
४. नेपाली नागरिकता भएका व्यक्तिका लागि जनसम्पर्क समिति सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउन आवश्यक व्यवस्था गर्ने साथै अन्यको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधनसहित) बमोजिम व्यवस्था गरिएको छ।
५. नवीकरण प्रविष्ट भइसकेका जिल्लामा विविध कारणले क्रियाशील सदस्यता नवीकरण छुट भइ सो को लागि केन्द्रमा निवेदन परेकोमा नेपाली कांग्रेसको नियमावली अनुसार विधानमा व्यवस्था भए बमोजिमको शुल्क लिइ २०८३ वैशाख १६ गतेदेखि लागू हुने गरि १ हप्ताका लागि केन्द्रबाटै नवीकरण गर्ने व्यवस्था गर्ने। सो को विवरण सम्वन्धित जिल्लामा जानकारी गराइनेछ।
६. विभिन्न कारणले रिक्त रहेका वडा सभापतिहरुको हकमा नेपाली कांग्रेसको डिजिटल प्रणालीमा क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि जिल्ला/क्षेत्र/केन्द्रीय प्रतिनिधि/वडा कार्यसमितले आफूमध्येबाट तोकेको व्यक्तिमार्फत अद्यावधिक गराउन सकिनेछ।

