जेठ २०,आशिष लामिछाने: इन्टरनेटको सहज पहुँच, कृत्रिम बौद्धिकता (AI) को विकास र सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण नेपाली विद्यार्थीको पठन संस्कृतिमा गम्भीर असर परेको देखिन्छ।
पहिले पुस्तकालय धाएर नयाँ पुस्तक पढ्ने विद्यार्थी अहिले सजिलै उपलब्ध सामग्रीको सारांश मात्र पढेर सन्तुष्ट हुने प्रवृत्तिमा देखिएका छन्। कृत्रिम बौद्धिकताले सामग्रीको आलोचनात्मक विश्लेषण नै गरिदिने भएपछि सम्पूर्ण सामग्री अध्ययन गर्ने अभ्यासमा ह्रास आएको हो। अध्ययनले देखाएअनुसार मोबाइल र अन्य डिजिटल डिभाइसमा सामग्री पढ्दा गहिरो चिन्तनभन्दा सतही जानकारीमै सीमित हुने प्रवृत्ति बढ्दो छ।
विद्यालय तहमा पठन संस्कृतिको विकास गर्नुपर्ने बेला उल्टै पाठ्यक्रम र मूल्याङ्कन प्रणालीले विद्यार्थीलाई पाठ्यपुस्तकको घेराभित्र सीमित गराइरहेको छ। नेपाली विषयको पाठ्यक्रम अझै पनि पुरानै सोच र पाठमा आधारित देखिन्छ, जसले न त विद्यार्थीको मनोविज्ञान बुझ्न सक्छ, न त व्यावहारिक भाषा सिप विकास गर्न सहयोग पुग्छ।
अङ्ग्रेजी विषयमा खुलापन, प्रयोग र सिर्जनशीलता प्रोत्साहित गरिए पनि नेपाली विषय अझै परम्परागत रचनामा अडिएको छ। यस्तो अवस्थाले गर्दा मातृभाषा पढ्न विद्यार्थीहरू अरुचिकर ठान्ने प्रवृत्ति बढेको छ। साथै, शिक्षण पेसामा संलग्न शिक्षकले समेत पाठ्यपुस्तकबाहेक अन्य साहित्यिक सामग्री अध्ययन नगर्ने प्रवृत्ति हावी भएको पाइन्छ।
पठन संस्कृतिको पुनःजागरणका लागि पाठ्यक्रमको पुनरावलोकन, खुला स्रोतको प्रयोग, र सिर्जनशील मूल्याङ्कन प्रणाली आवश्यक रहेको विज्ञको भनाइ छ। अन्यथा अध्ययनको संस्कृति झनै क्षीण हुँदै जाने चिन्ता बढ्दो छ।

