ताप्लेजुङको सिदिङ्वा धाममा तीनदिने पर्यटन महोत्सव, कञ्चनजङ्घा पदमार्गको प्रवेशद्वार प्रचारमा जोड


ताप्लेजुङ ।
कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वारका रूपमा रहेको ताप्लेजुङको सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि सिदिङ्वा गाउँपालिकाले तीनदिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ। यही जेठ १५ देखि १७ गतेसम्म चल्ने महोत्सवले धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सिदिङ्वा क्षेत्रको पहिचान विस्तार गर्ने उद्देश्य राखिएको छ।

समुद्र सतहबाट ३,५१५ मिटरको उचाइमा अवस्थित सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्ण रमणीय स्थल हो। धार्मिक आस्थासँगै पर्यटनको अपार सम्भावना बोकेको यस क्षेत्रको समग्र विकासका लागि महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।

महोत्सवमार्फत गाउँपालिकाभित्रका ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गाजस्ता पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरिनेछ। साथै जैविक विविधताको संरक्षण, ग्रामीण पर्यटनको विकास, अन्तरराष्ट्रिय पर्यटक आकर्षण र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार सिदिङ्वा धाम एक अन्तरराष्ट्रिय जैविक मार्गका रूपमा चिनिएको धार्मिक क्षेत्र हो। महोत्सवले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनसँगै गाउँपालिकाको आर्थिक समृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचार नहुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताइन्। उनका अनुसार महोत्सवले स्थानीय तथा बाह्य पर्यटकको आकर्षण बढाउनेछ।

प्रमुख प्रशासकीय अधिकृत विकास विकका अनुसार महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, वडास्तरीय भलिबल प्रतियोगिता, हाफ म्याराथन, स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक प्रस्तुति लगायत विविध कार्यक्रम समावेश गरिएका छन्। भलिबल प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु ३० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। हाफ म्याराथन प्रतियोगितामा क्रमशः ४०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सांस्कृतिक कार्यक्रमअन्तर्गत नौमती बाजा, च्याब्रुङ (केःलाङ) नाच तथा स्थानीय जातजातिका संस्कार र परम्परागत संस्कृति प्रस्तुत गरिनेछ।

सिदिङ्वा धाम पछिल्लो समय आन्तरिक पर्यटकहरूबीच लोकप्रिय गन्तव्यको रूपमा विकसित हुँदै गएको छ। स्थानीय कैलाश राईका अनुसार अघिल्लो वर्षहरूमा सीमित पर्यटक पुग्ने स्थानमा अहिले उल्लेख्य वृद्धि भएको छ। सिदिङ्वा गाउँपालिका–२ सादेवा र वडा नं. ३ आङ्खोपको सीमामा पर्ने धाम सिक्रेडाँडासम्म सडक पुगेपछि अझ सुलभ बनेको छ। सिक्रेडाँडाबाट सिदिङ्वासम्म करिब दुई घण्टा ३० मिनेटको पैदल यात्रा गर्नुपर्छ।

यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा (मुक्कुमलुङ), तिम्बुङ पोखरी, भारतका सिक्किम र दार्जिलिङका सुन्दर दृश्यहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ। धार्मिक मान्यताअनुसार यो स्थल सिद्ध ऋषिले तपस्या गरी मनोकामना पूरा गरेको पवित्र स्थान मानिन्छ। विशेषगरी वैशाख, असोज र ऋषि तर्पणीका अवसरमा यहाँ उल्लेख्य धार्मिक पर्यटक आउने गरेका छन्।

गाउँपालिका उपाध्यक्ष कडरियाले प्रचारप्रसारको अभावले पर्यटकको संख्या सीमित भएको भए पनि पछिल्लो समय सामाजिक सञ्जाललगायत माध्यमबाट पर्यटक बढ्न थालेको बताइन्। सिदिङ्वा धामको विकासका लागि दीर्घकालीन योजना निर्माण गर्दै संरचना निर्माणको कार्य अघि बढाइएको जानकारी दिइएको छ।

हाल सिदिङ्वा धाममा स्थानीय, ताप्लेजुङका विभिन्न क्षेत्र र पाँचथरबाट समेत पर्यटक पुग्न थालेका छन्। महोत्सवबाट सिदिङ्वा धामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्शामा स्थापित हुने अपेक्षा गरिएको छ।


प्रकाशित मिति : २०८२ जेष्ठ ७, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार