काठमाडौं, १७ जेठ : भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले शनिबार साँझ काठमाडौंको बौद्धस्थित पाँचतारे हायात होटलको ग्राउन्डमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा धमाकेदार प्रस्तुति दिएकी छन्। सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजित यो विशेष कार्यक्रममा उनले आफ्नो नृत्य टोलीसहित विभिन्न चर्चित बलिउड गीतहरूमा नाचेर दर्शकलाई मन्त्रमुग्ध बनाएकी हुन्।

नोरा फतेहीको साथमा नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजामगर, समर्पण लामा लगायतले समेत आफ्नो प्रस्तुति दिँदै हायात ग्राउन्डलाई रौनक र उत्साहले भरिपूर्ण बनाएका थिए। नोरा र उनको टोलीले आफ्नो उच्चस्तरीय प्रस्तुति मार्फत दर्शकहरूलाई मात्र होइन, सम्पूर्ण कार्यक्रमस्थललाई नचाएका थिए।

उक्त कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ आयोजना गरिएको थियो, जसले सामाजिक उद्देश्यसँग मनोरञ्जनलाई जोडेको उदाहरणीय प्रयासको रूपमा चर्चा पाएको छ।
नोरा आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेकी थिइन्। विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्, “म नेपालीलाई भेट्न उत्साहित छु। हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ। यो मेरो पहिलो नेपाल भ्रमण हो।”
उनको २३ सदस्यीय नृत्य टोली भने शुक्रबार नै नेपाल आइसकेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक र दर्शकहरू दुवैले नोरा फतेही र अन्य कलाकारप्रति आभार व्यक्त गरेका छन्। यस्ता अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरूले नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।


