इन्डियन आइडल १२ का विजेता तथा चर्चित गायक पवनदीप राजन दुर्घटनामा परेर अस्पतालमा भर्ना छन् । उत्तराखण्डदेखि दिल्ली आइरहेका बेला पवनदीप सवार कार आइतबार राति अमरोहा जिल्लाको गजरौला थाना क्षेत्रमा रोकेर राखेको कन्टेनरसँग ठोक्किएको थियो ।
दुर्घटनामा उनको एमजी हेक्टर गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । दुर्घटनामा पवनदीपसमेत तीनजना गम्भीर रूपमा घाइते छन् । दुर्घटनाको समय कारमा पवनदीपसहित उनका साथी अजय मेहरा र ड्राइभर राहुल सिंह सवार थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार ड्राइभर निदाएकाले कार रोकिराखेको कन्टेनरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनामा पवनदीपको हात, खुट्टा र काँधमा फ्र्याक्चर भएको छ । उनको टाउकोमा पनि गहिरो चोट लागेको छ ।

दुर्घटनाको जानकारी प्राप्त भएपछि स्थानीय प्रहरी र एम्बुलेन्स पुगेर सबै घाइतेलाई नजिकको अस्पतालमा भर्ना गरेको थियो । दैनिक भास्करका अनुसार एम्बुलेन्सका चालक नितिन पालले उद्धार गर्दा पवनदीप निकै पीडामा थिए र आफ्नो परिवारको बारेमा सोधिरहेका थिए । उनले आफ्नो दाइको फोन नम्बर दिएर परिवारलाई सम्पर्क गर्न आग्रह गरेका थिए
पहिला उनको अमरोहाको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । उनको हालत गम्भीर रहेकाले पछि उनलाई मुराराबाद र त्यसपछि डिडौलीको निजी अस्पतालमा रेफर गरिएको थियो ।
अहिले उनलाई नोयडाको फोर्टिस अस्पतालमा आईसीयूमा भर्ती गरिएको छ । डाक्टरहरूले उनको अवस्था स्थिर रहेको र आगामी दिनमा उनको शल्यक्रिया गरिने बताएका छन् ।
दुर्घटनाको खबरपछि पवनदीपका फ्यानहरूले उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरिरहेका छन् । अस्पतालले जारी गरेको मेडिकल मेडिकल बुलेटिन अनुसार गायक हाल होसमा नै रहेका छन् भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
यता, पवनदीपका पिता सुरेश राजनले प्रहरीलाई यस दुर्घटनाबारे कुनै पनि कानुनी कारबाही नगर्ने जानकारी दिएका छन् । उनले यसलाई दुर्भाग्यपूर्ण बताउँदै कन्टेनर चालकमाथि कुनै आरोप नलगाउने स्पष्ट पारेका छन् ।
पवनदीप उत्तराखण्डको चम्पावत जिल्लाका निवासी हुन् । इन्डियन आइडल जितेपछि उनी युवाहरूबिच एक आइकन बनेका छन् ।
उनले भारतका कयौँ राज्य र विदेशसहित १२ सयभन्दा बढी सांगीतिक कार्यक्रम गरिसकेका छन् । उनी उत्तराखण्ड सरकारका युवा ब्रान्ड एम्बेसडर पनि हुन् ।

