राष्ट्र बैंकको वार्षिकोत्सव : दीर्घ सेवा पदक वितरण, गभर्नर नियुक्तिमा ढिलाइप्रति आलोचना


नेपाल राष्ट्र बैंकले गभर्नर अभावकै बीच ७० औं वार्षिकोत्सव सम्पन्न

नेपाल राष्ट्र बैंकले आइतबार केन्द्रीय कार्यालय बालुवाटारमा विशेष समारोह आयोजना गरी आफ्नो ७० औं वार्षिकोत्सव मनाएको छ। वि.सं. २०१३ साल बैशाख १४ गते स्थापना भएको बैंकले वार्षिकोत्सवको अवसरमा परम्परा अनुसार पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको छ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिनुका साथै राष्ट्र बैंकमा २० वर्ष सेवा पुरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो।

तर, यो वर्ष राष्ट्र बैंकले स्थायी गभर्नरविना नै वार्षिकोत्सव मनाउनु पर्‍यो। गभर्नर अभावका कारण कर्मचारी युनियनहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंक समिति अध्यक्ष कृष्ण केसीले देशको आर्थिक स्थायित्व जोगाउनुपर्ने संस्थामा सरकारले समयमै गभर्नर नियुक्त नगरेको भन्दै आलोचना गरे। नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईले गभर्नर अभावले बजारमा विभिन्न अनावश्यक हल्ला फैलिएको र यसले राष्ट्र बैंकको साख कमजोर बनाउने चेतावनी दिए।

त्यस्तै, कर्मचारी संघकी अध्यक्ष गीता पोखरेलले आन्तरिक समस्या सार्वजनिक रुपमा बाहिर ल्याउनुभन्दा संस्थाभित्रै संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा कायम मुकायम गभर्नर र डेपुटी गभर्नरले मन्तव्य राखे पनि गभर्नर नियुक्तिको विषयमा भने प्रत्यक्ष चर्चा भएन। सम्मानित पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको आर्थिक तथा वित्तीय क्षेत्रका अवसर र चुनौतीहरूबारे आफ्ना धारणा प्रस्तुत गरे।

वार्षिकोत्सव समारोहमा अधिकांश पूर्व गभर्नरहरूको उपस्थिति देखिए पनि पूर्व गभर्नर तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा भने अनुपस्थित रहे। खतिवडा दोस्रोपटक गभर्नर बन्ने चर्चा भइरहेका बेला उनी कार्यक्रममा नआउनुले थप चासो बढाएको छ।

त्यस्तै, कार्यकाल नसकिँदै राजीनामा दिएका डा. गुणाकर भट्ट र योजना आयोगका सदस्य समेत रहेका प्रकाशकुमार श्रेष्ठ पनि कार्यक्रममा अनुपस्थित रहे। भट्टको राजीनामा हाल विचाराधीन अवस्थामा छ भने श्रेष्ठको राजीनामा अस्वीकृत भइसकेको छ।


प्रकाशित मिति : २०८२ बैशाख १५, सोमबार गते

धेरै पढिएको

ताजा समाचार