दोस्रो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप माघ पहिलो साताबाट मलेसियामा सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० गते सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागीता हो । गत महिनाको अन्तिममा भएको एसिया छनोटको फाइनल खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको हो ।
कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालका अलावा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपमा डेब्यु गर्नेछ ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल माघ ७ गते रहेको छ । विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपालले माघ ९ गते अस्ट्रेलियाको सामना गर्नेछ ।
विश्व कपको समूह ‘ए’ मा साबिक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । समूह चरणको खेलमा शीर्ष तीनमा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ ।
सुपर सिक्सका दुई समूह हुनेछन् । ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुई सेमिफाइनलका विजेताबीच फेब्रुअरी २ अर्थात माघ २० गते फाइनल खेल रहेको छ ।
पहिलो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।


