धेरै उपभोक्ताले सेन्टर र स्पेयर्स पार्ट्स बारेमा कुरै गर्नुहुन्न ,यसले सेवामा प्रतिबद्ध हामी जस्तो कम्पनी अण्डरभ्यालु भए जस्तो लाग्छ ।


आशिष लामिछाने , रौतहट, अशोज ९ : ब्राण्डको पृष्ठभूमी अध्ययन गर्नैपर्छ,धेरै उपभोक्ताले विक्री पश्चातको सेवा, सर्भिस सेन्टर र स्पेयर्स पार्टस्का बारेमा कुरै गर्नुहुन्न । यसले सेवामा प्रतिबद्ध हामी जस्तो कम्पनी अण्डरभ्यालु भए जस्तो लाग्छ ।

प्रशन्न पन्त
विजनेस हेड, एमएडब्ल्यु बृद्धि मोटर्स प्रा. लि.

विद्युतीय सवारीको आजको दौडलाई कसरी लिनुहुन्छ ?
म यसलाई इभी मेनिया भएको भन्छु । अहिले नेपाल इभीमय भएको छ । नेपालमा विद्युतीय सवारी साधनलाई आम उपभोक्ताले जसरी एसेप्टेन्स गर्नुभएको छ त्यो अत्यन्तै उत्साहजनक छ । कारण त्यही हो नेपालमा चीनका र भारतका सबै ठूला उत्पादकहरुका विद्युतीय कारहरु आयात तथा विक्री वितरण भईरहेका छन् । तेश्रो मुलुकबाट पनि विभिन्न ब्राण्डका इभी आउने क्रम निरन्तर जारी छ । आज नेपालमा विक्री भईरहेका सवारी साधन मध्ये ७० प्रतिशत भन्दा बढी सवारी साधन विद्युतीय नै विक्री भईरहेका छन् । पाँच बर्ष अगाडिमात्र हेर्दा यो १ प्रतिशत भन्दा कम थियो । यो बृद्धि अपत्यारीलो छ, हामी मात्र होईन विश्व नै यो एसेप्टेन्स र बृद्धि प्रति चकित छ । अहिले नेपालमा सर्बाधिक विक्री हुने सवारी साधनको लिस्टमा टप थ्रि कम्पनी नै इभी छन् ।

यो उत्साहजनक अवस्थाको कारण के लाई मान्नुहुन्छ ?
विद्युतीय सवारी साधनको आयातमा राज्यले दिएको कर छुट नै यसको प्रमुख कारण हो । विद्युतीय सवारी साधन प्रयोग गर्दाका फाईदाहरुका बारेमा राज्यकै तहबाट ब्यापक चर्चा परिचर्चा गरियो । यसले संचार माध्यम र आम मानिसमा समेत उल्लेख्य ध्यानाकर्षण भयो । यसले पर्यावरणमा पार्ने सकारात्मक प्रभाव र इन्धन आयात घटाई ब्यापार घाटा समेत घटाउने भएकाले विद्युतीय सवारीसाधन प्रति आम मानिसको समेत सकारात्मक धारणा बन्यो । यता, इभीका खरिदकर्ताले उही फिचर र लक्जरी भएको पेट्रालियम इन्जिन भएको कारको तुलनामा आधा मूल्यमा इभी पाउने भएपछी उपभोक्ताको पहिलो रोजाई इभी बन्न सफल भएको हो ।

इभीका लागि ग्राहकको बुझाईका कस्ता चुनौतीहरु छन् ?
हिजोका दिनमा इभीको सबैभन्दा ठूलो चुनौती चार्जिङ् सुविधाका सन्दर्भमा थियो । बाटो मै गाडिको चार्ज सकिएर तान्नु पर्ला भन्ने प्रश्न उपभोक्ताको आउने गथ्र्यो । चार्ज भएन भने के गर्ने? ह्विल लक होला, ढोका नखुल्ला जस्ता शंका र मिथ्याहरु बढी चर्चामा थिए । अहिले त्यस किसिमका चुनौतीहरु सकिएका छन् । अव इभी संचालनका सन्दर्भमा ग्राहकहरु अभ्यस्त र जानकार हुँदै गएका छन् तर, भविष्यका बारेमा रहेका आशंका र अनुमानमा बढी चर्चा हुन थालेको छ । भविष्यमा ब्याट्रीको लागत कति पर्ला ? रिसेल भ्यालु कस्तो होला ? स्पेयर्स पार्टस् पाउला कि नपाउला ? गाडी कतिको टिकाउ होला ? जस्ता प्रश्नहरुको सामना गर्नुपर्छ । अझै चेतना अभिबृद्धिमा धेरै काम गर्न बाँकी नै छ ।

इभीको रिसेल भ्यालुमा रहेका आशंकाहरु कसरी हटाउन सकिएला ?
यो इभी बजारको अहिलेको सबैभन्दा ठूलो चर्चाको विषय हो । इभीमा प्रयोग भएका प्रविधीको आयु कस्तो हुन्छ ? ब्याट्रीले भविष्यमा कसरी रेस्पोन्स गर्छ, मोटर र ब्याट्रीको हेल्थ कसरी हेर्ने ? इभीको लागतको झण्डै ४० प्रतिशत ओगट्ने ब्याट्रीको मूल्य भविष्यमा कस्तो हुन्छ ? जस्ता धेरै प्रश्नहरु अनुत्तरीत छन् । हामी इभी आयातकर्ता पनि यसमा प्रष्ट छैनौं । झनै रिसेल मार्केट यसमा अनविज्ञ छ । अटोमोबाईलका रिसेलरहरुलाई आवश्यक ट्रेनिङ् दिएर, वर्कसप र सेमिनारहरु संचालन गरेर रिसेलरहरुलाई यसमा अभ्यस्त बनाउन अनि आत्मविश्वास बढाउन सके यसमा हामीले सकारात्मक उपलब्धि हाँसिल गर्ने अवस्था बन्ने थियो । अहिल्यै इभी रिसेलमा आएकै छैन, रिसेलमा आउन थालेपछी अरु एक दुई बर्ष पछी बल्ल यसमा प्रष्ट हुन सकिएला ।

इभीको खरिदमा उपभोक्ताले देखाएको खरिद ब्यवहारलाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?
अलिक अप्रत्यासित ब्यावहार उपभोक्ताले देखाउनु भएको छ । हिजोका दिन सम्म ब्राण्ड, सर्भिस र स्पेयर्स पार्टस्को उपलब्धतामा गहिरो चासो राख्ने उपभोक्ता आज, इभीका फिचर, यसमा भएको इन्फोटेन्मेन्ट, यसले दिने रेन्ज र यसका लक्जरीका विषयमा कुरा गरिरहनु भएको छ । धेरै उपभोक्ताले विक्री पश्चातको सेवा, सर्भिस सेन्टर र स्पेयर्स पार्टस्का बारेमा कुरै गर्नुहुन्न । यसले सेवामा प्रतिबद्ध हामी जस्तो कम्पनी अण्डरभ्यालु भए जस्तो लाग्छ । सर्भिस सेन्टर नै नबनाई, पार्टस्को हेक्कै नराखी गाडी चाहिं बेचिहालौं भन्नेहरु पनि बजारमा छन् । यसमा उपभोक्ता चनाखो हुनैपर्छ । अहिले धेरै उपभोक्ताले गाडिको डिजाईन र फिचरका आधारमा खरिद निर्णय बनाईरहेको अवस्था छ ।


नेपाली बजारमा भित्रिएका ब्राण्डहरुको संख्या नेपाली बजारले धान्न सक्ला ?
आजको दिनमा ३० भन्दा बढी इभीका ब्राण्डहरु नेपाली बजारमा उपलब्ध छन् । कतिपय ब्राण्ड त एकपल्ट इम्पोर्ट गरेर दोश्रो पल्ट नगर्ने खालका पनि छन् । नेपाली बजारमा यहाँले आशंका गरेजस्तै नेपाल जस्तो मुलुकमा यो परिमाणमा गाडीको आयात हुनु पक्कै पनि धेरै हो । यो बजारको माग र आवश्यकता भन्दा बढी नै हो । अवश्य पनि यसमा सर्भाईबल अफ द फिटेस्ट लागु भएरै जाने छ । यो भोलिका दिनमा धेरै ब्यापारीलाई सस्टेनेबल हुन सक्दैन । कतिपय ब्राण्ड सँग प्रोडक्ट रेन्ज पनि छैन, कतिपय ब्राण्ड चीनमै सस्टेन हुनसक्ने अवस्था छैन, कतिपय ब्राण्डको डिजाईन र विल्ड पनि नेपाली सडक सुहाउँदो छैन । यसले केही समयमा अवश्य फिल्टर हुनेछ । तर, यसमा राज्यले नै मापदण्ड बनाएर जतिसक्दो चाँडो अगाडिबढ्नुपर्छ अन्यथा उपभोक्ताको अन्यायमा पर्नसक्ने पक्ष नकार्न सकिंदैन ।

उपभोक्ताले के हेरेर इभी किन्नुपर्छ ?
आफ्नो बजेट र ब्राण्ड सबैभन्दा महत्वपूर्ण कुरा हो । चीनमा सयौं इभी ब्राण्ड छन् ति आउँछन् जान्छन् तर तपाईंले किनेको गाडी त्यस्तै ब्राण्डको पर्यो भने पार्टस् खोज्न कहाँ जाने । त्यसैले आफूले किन्ने इभीको पृष्ठभूमी अध्ययन अपरिहार्य छ । त्यससँगै नेपाली आयातकर्ताको पृष्ठभूमी पनि हेर्नुपर्छ । एकपल्ट गाडी किनेपछी त्यो लगानी १० बर्षका लागि हो आज आउने भोली बन्द हुने ब्राण्ड भयो भने लगानी डुब्ने पक्का हो । त्यस बाहेक इभीको विल्ड क्वालिटी र आफ्नो आवश्यकता के हो बुझेर मात्र इभी किन्नुपर्छ ।

अहिले देखिएको प्राईस वारलाई कसरी लिनुहुन्छ ?
यो हाम्रा लागि अप्रत्यासित हो । गएको नाडा अटो सोमा नयाँ ब्राण्ड र मोडलका गाडीहरु धमाधम थपिए । यस सँगै अलिक ब्यावसाय गर्माएको त हो नै । तर, पछिल्ला दिनमा ब्याट्री टेक्नोलोजीमा सुधार आई ब्याट्रीको लागत घटेकाले इभीको मूल्यमा भने गिरावट आएकै हो । जसको प्रभाव नेपाली बजारसम्म आईपुगेको हो । यसले आम उपभोक्तालाई फाईदै पु¥याएको छ, उपभोक्ताले थप सुलभ मूल्यमा गाडी किन्न सक्ने अवस्था बनेको छ । तर, अहिलेको यो प्राईस कट अस्वस्थ्य प्रतिस्पर्धा तर्फ मोडियो भने चाहिं यसले न त ब्यावसायीलाई फाईदा पु¥याउँछ न उपभोक्तालाई ।


प्रकाशित मिति : २०८१ आश्विन ९, बुधबार गते

धेरै पढिएको

ताजा समाचार