इदको अवसर पारेर बलिउड फिल्म ‘बडे मियाँ र छोटे मियाँ’ प्रदर्शन भएको थियो। फिल्ममा अक्षय कुमार र टाइगर श्राफ जस्ता चर्चित कलाकारको अभिनय छ।
रिलिजअघि फिल्मले राम्रो कमाइ गर्ने भारतीय फिल्मकर्मीको आशा थियो। तर फिल्मले मिश्रित प्रतिक्रिया पाउनुको साथै बक्स अफिसमा पनि खासै कमाल गर्न सकेन।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार यो फिल्म इदमा प्रदर्शन भएका अन्य फिल्मको तुलनामा कमजोर देखिएको छ।
बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले १६ करोड ७ लाख भारूमा ओपनिङ गरेको छ। जुन इदमा प्रदर्शन भएका फिल्ममध्ये कम हो।
अली अब्बास जफर निर्देशित फिल्ममा अक्षय र टाइगरसँगै पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा, मानुषी छिल्लरलगायत कलाकारको अभिनय छ। फिल्ममा वासु भगनानी र ज्याकी भगनानीको लगानी छ।
सन् १९९५ मा बनेको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अमिताभ बच्चन र गोविन्दा मुख्य भूमिकामा देखिएका थिए।

