७.४ म्याग्नेच्युडको भूकम्पले केन्द्रबिन्दु ह्वालियन


ताइवानमा ७.४ म्याग्नेच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ।

आज बिहान ताइवानको पूर्वी तटीय सहर ह्वालियन सिटीनजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा ९ जनाको मृत्यु भएको ताइवान सरकारका अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमहरूसँग बताएका छन्।

At least nine dead after powerful earthquake shakes Taiwan

मृत्यु हुनेमध्ये २ जना पदयात्री रहेको बताइएको छ। पदयात्राका क्रममा भूकम्प गएपछि आएको पहिरोमा च्यापिएर उनीहरूको मृत्यु भएको बताइएको छ।

अहिलेसम्म ८ सयभन्दा बढी घाइते भएको समाचार संस्था द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

भूकम्पका कारण बहुतले भवनहरूमा क्षति पुगेको छ। केही भवनहरू सडकसँग ६० देखि ४५ डिग्रीसम्म ढल्किएका तस्बिरहरू सार्वजनिक भएका छन्।

त्यहाँबाट सयौं मानिसहरूलाई उद्धार गरिएको छ। अहिले पनि उद्धार कार्य चलिरहेको छ भने भवनहरू खाली गरी मानिसहरूलाई खुल्ला स्थानमा राखिएको छ। भूकम्पपछि ५ म्याग्नेच्युडमाथिका १०० वटाभन्दा बढी पराकम्पहरू गइसकेका छन्। सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

भूकम्पपछि गएको पहिरोले सुहुआ राजमार्गका १९ भन्दा धेरै ठाउँमा पहिरो खसेका छन्। त्यहाँ ठूला ठूला ढुंगाहरू खसेकोले यात्रुहरू फसेका छन्।

Death toll, injuries skyrocket after earthquake near Taiwan | news.com.au —  Australia's leading news site

मानिसहरू चिङमिङको लागि यात्रा गरिरहेका थिए। आज सबै चिनियाँ भाषा बोल्नेहरूले आफ्ना आफन्तको चिहान सफा गर्ने र त्यहाँ भेटी चढाएर सम्मान गर्ने कार्यक्रम थियो। त्यसकारण पनि अन्य दिनको तुलनामा आज यात्रा गर्ने मानिसहरू बढी थिए र उनीहरू पहिरोमा फसेका छन्।

न्युयोर्क टाइम्सका अनुसार त्यसरी फसेका १२७ जनालाई त्यहाँको सुरक्षाकर्मीहरूले उद्धार गरेका छन्।

ताइवानमा यसलाई २५ वर्षयताकै सबैभन्दा ठूलो भूकम्प भनिएको छ। त्यहाँ यसअघि १९९९ मा गएको ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यतिबेला साढे २ हजार भन्दा बढी मानिहरूको मृत्यु भएको थियो।

त्यसपछि २०१८ मा ह्वालियन केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यतिबेला २१६ जनाको मृत्यु भएको थियो।

यसपालि भूकम्पको इपिसेन्टरमा कम आवादी भएकाले पनि मानवीय क्षति कम हुनसक्ने समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

ताइवानमा करिब साढे २ करोड मानिसहरूको बसोबास छ। राजधानी ताइपेइ लगायत पश्चिमी सहरहरूमा  बाक्लो आवादी छ।

पश्चिमी इलाकाहरूको तुलनामा पूर्वी तटीय सहरहरूको आवादी कम छ। बुधबार भूकम्प गएको तटीय क्षेत्र ह्वालियन काउन्टीमा झन्डै तीन लाख जनसंख्या रहेको र तीमध्ये एक लाख मुख्य सहरमा बसोबास गर्ने सिएनएनले उल्लेख गरेको छ।

तर दुर्गम तटीय र पहाडी क्षेत्रमा पनि मानिसहरूको बसोबास रहेको र उद्धारकर्मीहरूलाई त्यहाँ पुग्न कठिन भएकाले भूकम्पको असर अझै बढ्न सक्ने बताइएको छ।

Taiwan rocked by most powerful earthquake in 25 years - The Japan Times

यद्दपि भूकम्प प्रतिरोधी घरहरू भएका कारण सहरी क्षेत्रमा यसले कम मानवीय क्षति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।


प्रकाशित मिति : २०८० चैत्र २२, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार