आरसिबिद्वारा पञ्जाब अन्तिम ओभरमा पराजित


रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल)मा पहिलो जित दर्ता गरेको छ । आरसिबिद्वारा घरेलु मैदानमा भएको खेलमा पञ्जाब किंग्स ६ विकेटले पराजित भएको हो ।

पञ्जाबले पस्किएको १७७ रनको लक्ष्य आरसिबिले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ४९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए ।

यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको विष्फोटक अविजित इनिङ खेले । दुई ओभरमा २३ रन चाहिएको अवस्थामा हर्शल पटेलको १९औं ओभरमा कार्तिकले एक चौका र एक छक्का सहित १३ रन निकालेका थिए ।

यस्तै अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा उनले पहिलो बलमा छक्का प्रहार गरे भने अर्को बल वाइड रहन गयो । त्यसपछिको बलमा चौका प्रहार गर्दै उनले आफ्नो टोलीलाई जित दिलाए ।

महिपाल लोम्रोर ८ बलमा १७ रन बनाएर नटआउट रहे । रजत पतिदरले १८ बलमा १८ रन नै बनाउन सके ।

पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २-२ विकेट लिए । यस्तै स्याम करन र हरशल पटेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए । यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे ।

आरसिबिका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २-२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १-१ विकेट लिए ।

आईपिएलमा भोलि हुने खेलमा बेलुका ७:४५ बजे चेन्नाई सुपर्नकिंस र गुजरात टाइटन्स भिड्ने छन् ।


प्रकाशित मिति : २०८० चैत्र १३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार