प्रधानमन्त्रीले आजको संसद् बैठकमा संबोधन गर्ने


काठमाडौँ- नयाँ सत्ता गठबन्धनका नयाँ मन्त्रीहरूको शपथ सकिएको भोलिपल्ट बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकमा संबोधन गर्ने भएका छन्।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर अचानक नेकपा  एमालेसहितको नयाँ गठबन्धन बनाएर रास्वपा, समाजवादी लगाएतलाई समेत साथमा लिएर सरकार बनाएका दाहालले गठबन्धनको वर्तमान आवस्यकता र राजनीतिक परिवतर्नका बारेमा आफ्नो भनाई राख्ने प्रधानमन्त्री निकट स्रोटले जानकारी दिएको छ।

प्रतिनिधिसभाको बैठक आज बिहीबार ११ बजेका लागि तय भएको पनि अहिलेसम्म सुरु भएको छैन।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन्।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिका सभापति किराणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आ.व.२०७९/०८०० पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै, दिउँसो सवा १ बाट राष्ट्रिय सभाको बैठक सुरु हुनेछ।  राष्ट्रियसभाको बैठक मा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन्।

प्रधानमन्त्री दाहालले लोक सेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन, २०७९/०८० सभ समक्ष पेश गर्ने र राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने कार्यसूची रहेको छ।


प्रकाशित मिति : २०८० फाल्गुन २४, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार