टी-२० विश्वकपअघि नेपालले तीन महिनाको अन्तरमा तीन अन्तर्राष्ट्रिय सिरिज खेल्दै


आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपअघि नेपालले कम्तिमा तीन वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने पक्का भएको छ।

नेपालले फेब्रुअरीमा घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ।

पर्सी बिहीबारदेखि हुने क्याडनाविरुद्धको एकदिवसीय सिरिज र त्यसपछि हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिजपछि टी-२० सिरिज हुनेछ।

नेपालले क्याडनासँग तीन वटा एकदिवसीय खेल खेल्दैछ। त्यसका लागि क्याडनाको टिम आज राति मलेसियाबाट काठमाडौं आइपुग्दैछ।

यो सिरिजपछि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग दुई दुई वटा एकदिवसीय खेल गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।

यसरी सात वटा एकददिवसीय खेल खेलपछि नेपालले नेदरल्यान्ड्स र नामिबियासँग टी-२० सिरिज खेल्ने भएको हो। लिग-२ को अघि वा पछि टी-२० सिरिज खेल्ने क्यानको नीतिअनुसार फागुन दोस्रो सातादेखि टी-२० सिरिज हुन लागेको हो।

घरेलु मैदानमा टी-२० सिरिज खेलेपछि नेपालले हङकङमा हुने चार देखि सम्मिलित अर्को टी-२० सिरिज खेल्नेछ। मार्चमा हुने सिरिजका लागि नेपाली टिम आउन लागेको हङकङ क्रिकेटले पुष्टि गरेको छ। यो सिरिजमा हङकङ, ओमान, नेपाल र पपुवा न्युगिनीले भाग लिनेछन्।

मार्चमा हङकङमा टी-२० सिरिज खेलेपछि नेपाली टिम अप्रिलमा ओमान जानेछ। अप्रिल १० देखि २३ सम्म ओमानमा हुने एसिसी प्रिमियर कप यसपटक टी-२० फर्म्याटमा हुनेछ। १० टिमबीच हुने प्रतियोगितामा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। यो सिरिजमा नेपालले कम्तिमा चार र बढीमा ६ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।

तीन महिनामा तीन सिरिज खेलेपछि मेमा पालले भारतमा टी-२० विश्वकपको तयारी गर्ने योजना बनाएको छ। त्यसका लागि क्यानले थप एक प्रशिक्षक नियुक्ति गर्नका लागि प्रक्रिया अघि बढाएको छ। भारतमा तयारी गरेपछि नेपाली टिम टी-२० विश्वकप खेल्नका लागि अमेरिका प्रस्थान गर्नेछ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले नेदरल्यान्ड्ससँग अमेरिकाको डालासमा र श्रीलंकासँग फ्लोरिडामा खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल सेन्ट भिसेन्टमा हुनेछन्।


प्रकाशित मिति : २०८० माघ २३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार