पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा मृत फेला


पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका बिरामी मृत फेला परेका छन्।

सोमबार उपचारका लागि बाबु हरिप्रसाद मिश्रसँगै अस्पताल पुगेका तनहुँ घर भई पोखरा महानगरपालिका-१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्र सोही साँझ अस्पतालबाटै हराएका थिए।

प्रहरीले उनको खोजी गर्न शुक्रबार मध्याह्न १२ बजेदेखि पोखरा महानगरपालिका-१६ दीपस्थित सेती नदीको ड्याम खोलेको थियो।

त्यसरी खोजी गर्दा शुक्रबार अपराह्न साढे ३ बजे पोखरा महानगरपालिका-३ नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा मृत भेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

ज्वरोको उपचार गर्न बाबु हरिप्रसादसँगै सोमबार मणिपाल अस्पताल आएका संगम सोही साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए। बाबु औषधी लिन बाहिर निस्किएका बेला संगम अस्पतालबाट भागेका थिए।

खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको आइडी कार्ड फेला पारेको थियो।

सेती नदिको बहाव बढाउन शुक्रबार ड्याम खोलिएको थियो।

मृतकको शव पोष्टमर्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले जानकारी दिएका छन्।


प्रकाशित मिति : २०८० मंसिर २९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार