जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनाको मुद्दाको अन्तिम फैसला आएको छ।
आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।
जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २४ जनालाई जन्मकैद सजाय सुनाएको छ।
जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा, दाजु र भाइ लगायत छन्।
यस्तै, नवराजकी प्रेमिका र प्रेमिकाकी आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई यसअघि साधारण तारेखमा छोडिएको थियो।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ दिइएको रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन्।
तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहस गरेका थिए।सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी (पीडित) तर्फबाट बहस गरेका छन्। ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका छन्।
अन्तिम सुनुवाइमा बहसका लागि २४ जना वकिलले नाम दर्ता गराएका थिए। तीमध्ये एक जनाले बहस गरेनन्। नाम टिपाएका २४ मध्ये १७ जना वादीतर्फका र ७ जना प्रतिवादीतर्फका थिए।