थाइल्याण्डमा मिनिल्याण्डका रविन रिजाल अन्तर्राष्ट्रिय नृत्य निर्देशकका रूपमा सम्मानित २०२३ नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित थाइल्याण्ड अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधिको रूपमा कागेश्वरी मनोहरा नगरपालिका, वडा नं ५, थली स्थित मिनिल्याण्ड माद्यमिक विद्यालयका १७ जना विद्यार्थी र ३ जना शिक्षकको सहभागिता रह्यो र उक्त कार्यक्रममा मिनिल्याण्डका नृत्य शिक्षक रबिन रिजाललाई उत्कृष्ट नृत्य निर्देशकको रूपमा International Leadership Award द्वारा सम्मान गरियो ।
विगत २५ वर्ष देखि मिनिल्याण्डमा डान्स शिक्षकको रूपमा कार्यरत रिजालले विद्यार्थीहरूलाई विभिन्न नृत्य प्रतियोगिताहरूमा समावेश गराई विजयी गराउनु भएको छ। नेपाल सहित भारत, इन्डोनेसिया, पोल्याण्ड, बुल्गेरिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाईल्याण्ड, किर्गिस्तान, हंगेरी, लाओस, जस्ता १८ वटा देशहरूको सहभागिता भएको उक्त कार्यक्रममा नेपालले थाइल्याण्डको विभिन्न शहरहरूमा आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो। बैंकक नजिकको शहर नोंथाबुरीको रेउनलाडामा आयोजित पहिलो शोमा मिनिल्याण्डले तामांङ्ग सेलो प्रस्तुत गरेको थियो।
उक्त कार्यक्रम पश्चात सहभागी देशहरूका कलाकारहरूलाई बैंककको प्रख्यात कन्सर्ट थियटर शो डीसी मा आयोजित प्रख्यात थाई गायिका डा युई शिखाकुराको एकल सांगीतिक शोमा भब्य स्वागत गरिएको थियो। कॊरात प्रदेशको स्थानीय लुआंग पो चोक गुम्बामा भएको कार्यक्रममा मिनिल्याण्डका विद्यार्थीहरूले राष्ट्रिय झन्डा र गीत सहित परेडमा भाग लिनुको साथै नेपाली लोक नृत्य समेत प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा प्रदेश प्रमुख, नगरपालिका प्रमुख, भिक्षुहरू, प्रहरी, सेनाका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष जयराम वाग्ले सरले विश्व शान्ति कामना गर्दै छोटो मन्तव्य राख्नुभएको थियो । हर्मीटेज होटलमा साँझमा भएको कार्यक्रममा विद्यार्थीहरूले मेचे नाच प्रस्तुत गरेका थिए। यस्तै शिखोराफुम जिल्लामा अवस्थित Ngangkuang स्कुलमा आयोजित अर्को सांस्कृतिक कार्यक्रममा पनि नेपालको तर्फबाट मिनिल्याण्डले दुइवटा नृत्य प्रस्तुत गरिएको थियो ।
यी दुवै नृत्यहरूले दर्शकको मन जितेको थियो । यसै अवसरमा मिनिल्याण्डका विद्यार्थीहरूले थाईल्याण्डको सबै ठाउँमा मनाइने लाई क्राथोङ्ग पर्वमा भाग लिनुका साथै सुरिन प्रदेशमा अवस्थित हात्ती केन्द्रको समेत अवलोकन गरेका थिए र पत्तैयाको समुद्री तटमा पनि रमाइलो गर्ने मौका पाएका थिए। उक्त कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने मिनिल्याण्ड स्कुलका छात्र तथा छात्राहरूले प्रस्तुत गरेको दुवै नृत्यहरूले Excellence Award, ३ वटा Golden Elephant Award तथा Diamond of Asia Award प्राप्त गर्न सफल भएको थियो।