बागमतीसहित तीन प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौ, बुधबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र देशका बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका स्थानमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा अवस्थित छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 


प्रकाशित मिति : २०८० भाद्र १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार