कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


काठमाडौ, नेपालमा हाल मनसुनी वायुको साथै भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०८० श्रावण २५, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार