काठमाडौं, आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक हुँदैछ ।
दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
विहीबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो पौने ४ बजेभित्र सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर अरु गाडी चल्न नदिने र सडक पेटीमा सर्वसाधारणको आवतजावत पनि रोक्ने गरिएको थियो ।
तर, यसपटक भने राष्ट्रपति पौडेल शितल निवासबाट संसद भवन नयाँ वानेश्वर जाँदा सडकमा धेरैबेर अरु गाडी नरोकिने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
गणतन्त्रमा पनि राजतन्त्रमा जसरी सडकमा सर्वसाधारणको आवतावत रोकेर राष्ट्राध्यक्षले सवारी गर्ने भन्दै आलोचना भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो सवारीका बेला अरु गाडी पनि चल्न दिन आग्रह गरेका थिए ।