कसिलो बनाइँदै पेट्रोलियमबाट चल्ने निजी सवारी किन्दा पाइने कर्जा


काठमाडौं, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीको आयात घटाउने भएको छ ।

व्यापार घाटा न्यूनीकरण गर्न तयार पारिएको व्यापार घाटा न्यूनीकरण सम्बन्धी कार्ययोजना २०७९ स्वीकृत गर्दै मन्त्रिपरिषद्ले ६ महिना भित्रै पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन आयातमा निरुत्साहनको नीति लिएको हो ।

पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारीको आयात कम गर्न ६ महिना भित्रै नतिजा देखिने गरी सवारी कर्जा पुनरवलोकन गरिने र त्यसलाई नेपाल राष्ट्र बैंकमार्फत सम्बोधन गरिने मन्त्रीपरिषद्ले स्वीकृत गरेको कार्ययोजनामा उल्लेख छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको सट्टामा विद्युतीय सवारी साधन प्रयोग र आयातमा सहजीकरणको नीति लिने कार्ययोजनामा उल्लेख छ ।

‘पेट्रोलियम इन्धनबाट चल्ने निजी सवारी साधनको आयात निरुत्साहित गर्न त्यस्ता साधनमा दिइने सवारी कर्जा पुनरवलोकन ६ महिना भित्रै लागु हुनेगरी राष्ट्र बैंकले नीति लिने छ,’ कार्ययोजनामा भनिएको छ, ‘जसको विकल्पको रुपमा विद्युतीय सवारी साधन खरिदमा दिइने बैकिङ सुविधा सरल र सहज बनाइने छ ।’

६ महिना भित्रै लागु हुने यस्तो व्यवस्थाले नतिजा देखिने गरी पेट्रोलियम पदार्थबाट चल्ने निजी सवारी साधनको आयातमा कमी आउने र विद्युतीय सवारीको प्रयोग बढ्ने सरकारी अनुमान छ ।

विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै इन्धन आयातमा बाहिरिने रकम जोगिएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने सरकारको दाबी छ ।


प्रकाशित मिति : २०८० बैशाख ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार