पर्यटन उद्योगको प्रमुख सारथी बनेर सबैसँग हातेमालो गर्दै अघि बढ्छौं


Prof. Dr, (Er.) Bharat Raj Pahari

Chairman

Hotel Sarowar | Pokhara

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले पोखराको पर्यटन व्यवसायमा कस्तो प्रभाव पार्ला ?
पोखरा मात्र नभएर समग्र देशकै लागि यो बहुप्रतिक्षित परियोजना हो । ४० वर्षअगाडि बुनिएको योजना अहिले आएर साक्षात्कार हुँदै गर्दा नेपालको पर्यटकीय नगर पोखराले यस अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो आशा राखेको छ । नयाँ विमानस्थल बन्नु भनेकै पर्यटक आवागमनको नयाँ ढोका खोलिनु हो । नयाँ विमानस्थल सञ्चालनमा आउनु भनेको वायुसेवाको उडान संख्या थपिने सम्भावना बढ्नु हो । त्यसमाथि पर्यटक लक्षित सहरमा विमानस्थल त्यो पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु भनेको अन्तर्राष्ट्रिय पर्यटकलाई सोझै गन्तव्यसँग जोड्नु हो ।
पोखरा विश्वभर पर्यटनका लागि सर्वाधिक खोजिने गन्तव्यमध्येको हो । लेकसाइडमा रमाउने सामान्य पर्यटक हुन् या स्काई डाइभ गर्नकै लागि नेपाल आउने साहसिक पर्यटक, यहाँ सबैलाई सबै किसिमका पर्यटकीय आकर्षणका केन्द्रहरु उपलब्ध रहेका छन् । पोखरामा प्याराग्लाइडिङ, बेलुन राइड, बन्जी, जिपलाइन, कायकजस्ता हरेक किसिमका पर्यटकलाई मनपर्ने क्रियाकलाप उपलब्ध रहेका छन् । हामी २० लाख पर्यटक भित्र्याउने चर्चा गरिरहेका छौं । तर त्रिभुवन विमानस्थललाई मात्र आधार मानेर २० लाख पर्यटक भित्र्याउन आवश्यक सिट नै उपलब्ध थिएनन् । पहिल्यै अत्यन्त चाप रहेको यस विमानस्थलमा थप उडान पनि सम्भव थिएन । यस अवस्थाबाट मुक्ति दिलाएर हामीले परिकल्पना गरेको २० लाख पर्यटक भित्र्याउने सम्भावना नै यही पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले हामीसामु पस्किएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दुवै नेपालको पर्यटकीय विकासमा नयाँ उचाइ हासिल गर्न सहायक सिद्ध हुनेछन् ।
कोभिड १९ का कारण हाम्रो पर्यटन व्यवसायमा प्रभाव पर्नु अगाडि नेपालमा १० लाख भन्दा बढी पर्यटक आउन थालिसकेका थिए, जुन अवस्थामा छिटो फर्किन पक्कै पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहायक बन्नेछ । चौबीसै घण्टा सञ्चालनमा ल्याउन सकिने गरी डिजाइन तथा निर्माण गरिएको यस विमानस्थल सञ्चालनमा आएसँगै स्वदेशी वायुसेवा उडानको संख्या पनि अहिलेको तुलनामा दोब्बर हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले बताउँदै आएको छ । आठ लाख यात्रुलाई सेवा प्रदान गर्नसक्ने भनिएको यस विमानस्थलका कारण बाह्रै महिना पोखरा सिजन झैं भरिभराउ हुने मैले परिकल्पना गरेको छु । २० किलोमिटरको दुरीमा ८०० देखि ८००० मिटरको उचाई प्राप्त हुने जियोग्राफिकल डाइभर्सिटी भएको पोखरा विश्वभरका पर्यटकमाझ थप लोकप्रिय र रोजाइको गन्तव्य बन्नेमा म विश्वस्त रहेको छु । हिजोसम्म पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने एउटामात्र बाटो थियो जसमा रहेका असुविधा र सवारी साधनको जाम छिचोल्दै घण्टौं लगाएर पोखरा पुग्नुपथ्र्यो, तर अब सोझै पर्यटक पोखरामा अवतरण गर्नसक्ने अवस्था बनेको छ ।

यो विमानस्थललाई बढीभन्दा बढी उपयोगमा ल्याई पोखराको पर्यटनलाई प्रवद्र्धन गर्न कस्ता योजनाहरु आवश्यक छन् ?
हामीले पोखरामा पर्यटक भित्र्याउन युरोप अमेरिकासम्म पुग्नै पर्दैन । हाम्रा छिमिकी मुलुकहरुको आर्थिक प्रगति लोभलाग्दो छ । छिमेकी मुलुकका पर्यटकले पनि उल्लेख्य रुपमा भ्रमणमा खर्च गर्न थालिसकेका छन् । जसलाई मध्यनजर गर्दै, छिमेकी राष्ट्रहरुलाई हवाई उडान मार्फत पोखरालाई जोड्नमात्र सके पनि पर्याप्त हुनेछ । चीन, भारत, भुटान, बगंलादेश, म्यानमार लगायतका नजिकका छिमेकी मुलुकलाई आकर्षित गर्ने योजना बुने पोखराको पर्यटन प्रवद्र्धनको लागि पर्याप्त हुनेछ ।

बनेको नयाँ विमानस्थलले पोखराको पर्यावरणलाई क्षति पु¥याउने तर्कप्रति यहाँको धारणा के छ ?
कुनै पनि वातावरण र पर्यावरणको केन्द्र मानव जाति हो । मानव जातिबिना विश्वको अर्थ हुँदैन । तसर्थ मानवलाई केन्द्रमा राखेर आधुनिक पर्यावरणको अध्ययन र सन्तुलन कायम राख्ने गरिन्छ । त्यसको अर्थ कुनै पनि विकास निर्माणको क्रममा पर्यावरणमा क्षति पुग्छ नै, तर त्यो मानव जीवनको हित अनुकूल हुन्छ भने त्यसमा सम्झौता गरिन्छ भन्ने नै हो । पोखरा पनि त्यो विकासको मानवीय सिद्धान्त भन्दा फरक छैन । मानिसको जीवनलाई सुविधा सम्पन्न बनाउन र मानव जीवनलाई अनुकूल बनाउन आवश्यक पर्ने कार्यहरु गर्नै पर्छ यसबाट पर्ने पर्यावरणीय प्रतिकूलताको विभिन्न पद्धति र तरिकाहरु मार्फतबाट भर्पाइ गरिनुपर्छ भन्ने सिद्धान्तमा म पूर्ण सहमत छु । प्रकृतिलाई यत्तिकै छाडिदियो भने पनि त्यसले पर्यावरणीय प्रतिकूलता ल्याउँछ नै, बाढी, पहिरो, कोरोना, भूकम्प पनि प्रकृतिका अनुकूल विषय त पक्कै पनि होइनन् यिनीहरुले निम्त्याउने प्रतिकूलताको समाधान पनि मानिसले नै गर्ने हो । त्यसैले मानिसको आवागमन बढेका कारण वातावरण बिग्रन्छ भन्नु लघुताभास हो । यो सकारात्मक तर्क होइन । पर्यटकीय विकास र अर्थतन्त्रको जागरणका क्रममा वातावरण बिग्रन्छ भने त्यसलाई करेक्सन गरिने उपयुक्त विकल्पहरु पहिल्याउनु पर्छ ।

हजुर इन्जिनियर भएर पर्यटन व्यवसायमा रहेको संलग्नताले कस्तो संकेत गर्छ ?
इन्जिनियरिङ उद्यमशिलता हो, यसले निर्माण गर्छ । जसले राष्ट्रिय अर्थतन्त्रको विकासलाई सघाउँछ । त्यसैले हामीजस्ता उद्यमशिलता भएका मानिसहरुले जागिर खाएर मात्र आनो जीवन व्यतीत गर्नु भनेको निर्वाह गर्ने अर्थतन्त्रलाई साथ दिनु हो । सबै प्रोफेसनलहरुले राष्ट्रिय अर्थतन्त्रलाई योगदान दिने खालका कार्यहरु गर्नै पर्छ, रोजगारी सृजना गर्नैपर्छ, देश विकासमा योगदान गर्नै पर्छ । जसका लागि पर्यटन व्यवसाय अभिन्न अंग हो । त्यसैले यो मेरो रोजाइमा परेको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षाकृत परिणाम दिन नसकिरहेको परिप्रेक्षमा थपिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्रलाई अतिरिक्त व्ययभार थप्यो भन्ने भनाइप्रति यहाँ कति सहमत हुनुहुन्छ ?
यो बिल्कुल गलत कुरा हो, म यसमा पूर्णतया असहमत छु । विकास गर्नका लागि पूर्वाधार भएन भने केही पनि गर्न सकिँदैन । चाहे त्यो सभ्यताको कुरा होस् चाहे अर्थोपार्जनको प्रसंग । बिनापूर्वाधार विकास सम्भव छैन । अहिले काठमाडौंबाट पोखरा उडान भर्न चाहेको समयमा जहाजको टिकट पाउन सकिँदैन । तीन दशक पुरानो विमानस्थलबाट दिइने सेवाको गुणस्तर ज्यादै न्यून छ । भन्नलाई गण्डकी प्रदेश पर्यटकको केन्द्र भनिन्छ, तर पर्यटक आउने बाटो नै छैन । नेपाली जनता नै युरोप जानुप¥यो भने काठमाडौंको भीडभाड छिचोल्दै गन्तव्य तय गर्नुपर्ने बाध्यता छ । जसमा प्रशस्तै पैसा भएका र सहजता खोज्ने पर्यटक आउने सवाल नै उठ्दैन । नेपाल आएका ६० प्रतिशत पर्यटक पोखरा आउने विभिन्न तथ्याड्ढहरुले देखाउँछन् । पोखराका जनताको बाह्य मुलुकसँग पनि राम्रो सम्बन्ध छ, कतिपय परिवारका सदस्य विदेशमै बसोबास गर्छन् । जसको आउजाउमा यो विमानस्थलको भूमिका ठूलो हुनेछ । यी सबै पक्षहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य थियो र सदैव रहन्छ । मलाई लाग्छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा छिटो लगानीको प्रतिफल दिलाउने विमानस्थल बन्ने निश्चित छ ।

गन्तव्यका हिसाबले उत्कृष्ट, हवाई सेवाबाट जोडियो पनि अब आतिथ्यताका लागि पोखरा कतिको तयार छ ?
यो ज्यादै महत्वपूर्ण कुरा हो । होटेल एसोसिएसन अफ नेपालमा दर्ता भएका मात्रै करिब ४ सय ५० होटेलहरु पोखरामा सञ्चालनमा रहेका छन् । हानमा दर्ता नभएका अरु ३ सय जति होलान् । यी सबै होटेलले एकैपटक २० हजार पर्यटकलाई सेवा प्रदान गर्नसक्ने आंकलन गर्न सकिन्छ । यसरी एक दिनमा २० हजार पर्यटकलाई होटेल रुम दिनसक्ने पोखरा एक्लैले वार्षिक आठ लाख पर्यटकलाई सेवा प्रवाह गर्नसक्छ । पोखरामा उच्चस्तरीय डिलक्स होटेलहरु पनि सञ्चालनमा आइसकेका छन्, त्यसैले अब यहाँ गुणस्तरमा पनि कुनै प्रश्न उठ्ने ठाउँ छैन । अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै थप गुणस्तरीय र बढी खर्चालु पर्यटक पनि आउनेछन् । यता पोखरामा स्प्रिचुअल टुरिजम र मेडिकल टुरिजमले पनि बिस्तारै ठाउँ लिँदैछ । तसर्थ पर्यटकको आवश्यकता र आतिथ्यतालाई पूर्ण रुपमा ख्याल राख्न पोखरा सक्षम भएको मैले विश्वास लिएको छु ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार