शनिबार स्पेसलमा : वर्षकै सबभन्दा धेरै कमाउने सुपरहिट मलयालम फिल्म, हेर्नुस् युट्युबमा
विद्यार्थी जीवनमा हरेक व्यक्तिले तीता–मीठा सम्झना बटुलेका हुन्छन्। कतिपयलाई विद्यार्थी जीवन राम्रो लाग्न सक्छ, कतिपयलाई नराम्रो। तर विद्यार्थी जीवन राम्रो, नराम्रो जस्तो लागे पनि सधैं त्यसमा अड्किएर बस्नु हुँदैन। अगाडि बढ्नैपर्छ।
यस्तै कथा बोकेको फिल्म हो ‘क्लासमेट्स’।
मलयालम यो फिल्म कलेजको अन्तिम वर्षमा सँगै पढेका साथीहरूको कथामा आधारित छ। यी साथीहरूको १४ वर्षपछि भेटघाट जुरेको फिल्ममा देखाइएको छ। तर यो भेट कुनै ‘रियुनियन’ होइन। यो भेट जुर्नुको कारण तीतो छ।

फिल्मका मुख्य पात्रमध्ये एक हुन् मुरली। उनी गायक हुन्। त्यस्तै सुकु विद्यार्थी युनियनका नेता हुन् भने पियुस एक धनी र बिग्रेको युवक हुन्। अनि तारा शास्त्रीय नर्तक हुन्छिन्। यो कथा उनीहरूकै वरिपरि घुम्छ। मुरलीले कलेज पढ्ताताका नै सोचेका हुन्छन्, १४ वर्षपछि सबै साथीहरूसँग फेरि कलेजमै भेट्ने।
तर कलेजका अन्तिम दिनहरू चलिरहँदा उनको रहस्यमय मृत्यु हुन्छ। उनका आमाबाबु अय्यर र लक्ष्मी दुवै कलेजका शिक्षक हुन्। आफ्ना मृतक छोराको सपना पूरा गर्न उनीहरूले १४ वर्षपछि मुरलीका साथीहरूको जमघट कार्यक्रम आयोजना गर्छन्। यो भेटमा उनका साथीहरू सबै आउँछन्। उनीहरूले रमाइलो गरिरहेको देखेर मुरलीको बुबाआमालाई खल्लो पनि लाग्छ।
तर त्यही बीच अचानक नराम्रो घटना हुन्छ। मुरलीका साथी सुकुको कसैले हत्या गर्ने प्रयास गर्छ। उनी कोमामा पुग्छन्। सुकुको हत्याको प्रयासले कहानीमा नयाँ मोड लिन्छ।

आखिर कसले उनको ज्यान लिन खोजेको हो? के पहिले मुरलीको मृत्यु पनि यसै गरी भएको थियो? वा सुकुको हत्या प्रयासले नयाँ रहस्य खोलिदिन्छ? के सुकु फेरि सामान्य अवस्थामा फर्केलान्?
पियुस र ताराको भूमिका यो कथामा के हुन्छ? यी सबै जान्न फिल्म क्लासमेट्स हेर्नुहोला। लाल जोसले निर्देशन गरेको यो फिल्म सन् २००६ मा रिलिज भएको हो। सुरूआती दिनमा सामान्य प्रतिक्रिया पाएको क्लासमेट्सले केही समयपछि सकारात्मक प्रतिक्रिया पाउँदै सुपरहिटको दर्जामा परेको थियो। सिनेमा घरहरूमा यो फिल्म १५० दिनसम्म चलेको थियो। विद्यार्थी जीवनमा आधारित फिल्ममध्ये यसलाई सबभन्दा राम्रो मानिन्छ। यति मात्र होइन, यो फिल्म रिलिजपछि केरलामा पूर्वविद्यार्थीहरूको भेटघाट अभियान नै चलेको थियो।
दुई करोड भारूमा बनेको यो फिल्मले १७ करोड २५ लाख भारू कमाएको थियो। सन् २००६ मा सबभन्दा धेरै कमाउने मलयालम फिल्म यही हो। यसपछि यही फिल्म तमिल, तेलुगु र मराठीमा रिमेक गरिएको छ।
यो फिल्मले थुप्रै अवार्डहरू जितेको छ।

