अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का प्रमुख ग्रेग बार्कले अर्को साता नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ । बार्कले १८ मार्चमा काठमाडौं आएर ४ दिन नेपाल भ्रमण गर्ने तालिका रहेको छ ।
यसक्रममा उनले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सँगसँगै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।
बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएका छन् । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र खेलको चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । यसको प्रभाव सिनियर पुरुष टोलीले विश्वकप छनोट भएर देखाएको छ” बार्कलेले भने ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटको भविष्य अझ राम्रो गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

