अमेरिकामा यसै हप्ताको आइतबार एक व्यक्तिले व्यक्तिगत रिसइबी साँध्न आठ जनाको हत्या गरेका छन् । अमेरिकाको इलिनोई राज्यको जोलिएटमा दुईवटा घरमा प्रवेश गर्दै बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
उनले नजिकै रहेका दुई घरमा पालैपालो बन्दुकसहित प्रवेश गर्दै अन्धाधुन्ध गोली चलाएका थिए । आइतबार एक जनाको र सोमबार अन्य ७ जनाको शव जोलिएटमा फेला परेको थियो ।
अमेरिकी प्रहरीका अनुसार २३ वर्षीय रोमियो नान्स यस बन्दुक हिंसामा संलग्न थिए । हाल उनको पनि मृत्यु भएको छ । प्रहरीसँगको मुठभेड भइरहँदा उनले आफैँमाथि गोली चलाएको र आत्महत्या गरेको बताइएको छ । उनी भागेर टेक्सास पुगिसकेका थिए । टेक्सासमै उनको प्रहरीसँग गोली हानाहान भएको थियो ।
अमेरिकामा दोहोरिँदै बन्दुक हिंसा भइरहन्छ । सहजै बन्दुक खरिद गर्न पाउने भएकाले पनि त्यहाँ मानिसहरू व्यक्तिगत रिसइबी साँध्न, लुटपाट गर्न बन्दुककै प्रयोग गर्छन् । अमेरिकामा बन्दुक हिंसाबाट बर्सेनि ४० हजार मानिसले ज्यान गुमाइरहेका छन् ।
गतवर्ष सन् २०२३ मा मात्र अमेरिकामा बन्दुक हिंसामा परेर ४३ हजार २० जनाले ज्यान गुमाएको गन भायोलेन्स आर्काइभले जनाएको छ । यस तथ्यांकमा घरमै राखिएको बन्दुकले आत्महत्या गरेको घटना पनि समावेश छ ।
यस्तै, सन् २०२४ को पहिलो महिनाको २३ दिन बित्दै गर्दा पनि अमेरिकामा बन्दुककै कारण २४ सय २९ जनाले ज्यान गुमाइसके । यसको अर्थ बन्दुक हिंसामा अमेरिकामा हरेक दिन १०५ जनाले ज्यान गुमाइरहेका छन् ।

