काठमाडौँ । अस्ट्रेलिया र भारतको महिला टोलीबिच दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार मुम्बईमा खेलिँदैछ । अस्ट्रेलियन महिला टोली हाल भारत भ्रमणमा छ । भारतविरुद्धको दोस्रो टी–२० खेल अस्ट्रेलियाकी ३३ वर्षीया अलराउन्डर एलिस पेरीका लागि भने विशेष बन्ने भएको छ ।
उक्त खेलसँगै पेरी अस्ट्रेलियाका लागि तीन सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो महिला क्रिकेटर बन्नेछिन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् ।
पेरीले अस्ट्रेलियाका लागि हालसम्म १२ वटा टेस्ट खेलेकी छन् । टेस्ट क्रिकेटमा उनले ६६.०७ को औसतले कुल नौ सय २५ रन बनाएकी छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित दुई सय १३ रन हो । उनले टेस्ट क्रिकेटमा दुई शतक र चार अर्धशतक पनि प्रहार गरेकी छन् ।
उनले देशका लागि एक सय ४१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । एकदिवसीय खेलमा उनले ५१.३६ को औसतले तीन हजार आठ सय ५२ रन बनाएकी छन् । एकदिवसीय खेलमा उनले दुई शतक र ३४ वटा अर्धशतक प्रहार गरेकी छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय १२ रन हो ।
यसैगरी उनले अस्ट्रेलियाका लागि एक सय ४६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टी–२० प्रतियोगितामा ३२.२५ को औसतले कुल एक हजार सात सय ७४ रन बनाएकी छन् । टी–२० मा उनले नौवटा अर्धशतक प्रहार गरेकी छन् । टी–२० मा उनको उच्च स्कोर ७५ रन हो ।
यसका अतिरिक्त पेरीले टेस्टमा ३८, एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ६२ र टी–२० अन्तर्राष्ट्रियमा एक सय २३ विकेट पनि लिएकी छन् । बलिङतर्फ टेस्टमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर ६ विकेट, एकदिवसीयमा उत्कृष्ट प्रदर्शन २२ रन दिएर सात विकेट र टी–२० मा उनको उत्कृष्ट प्रदर्शन १२ रन दिएर चार विकेट हो ।
‘यो मेरो खेलजीवनको महत्त्वपूर्ण उपलब्धि हो । तर, मैले देशका लागि अझ धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने योजना बनाएकी छु,’ पेरी भन्छिन् । सन् २०२२ मा उनी केही समयका लागि टी–२० प्रतियोगिताबाट टाढिएकी थिइन् । तर, पछि फेरि उनलाई टी–२० टोलीमा समावेश गरिएको थियो ।

