सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीमा अहिलेसम्मको स्थिति हेर्दा सभापति रवि लामिछानेकै समूहका नेताहरूबीच विभिन्न पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह समूहका आकांक्षी सहित फागुन २१ को निर्वाचनअघि पार्टीमा समाहित विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी लगायत विभिन्न समूहका आकांक्षीलाई सकभर मनोनयनबाट पदाधिकारीमा ल्याउनेबारे छलफल भइरहेको स्रोतले बताएको छ।
खुला निर्वाचनबाट छानिने पदमा पनि सहमति जुटाउने कोसिस भइरहेको छ। तर आकांक्षी धेरै भएकाले कसैको नाम टुंगो लागिसकेको छैन। सहमति नभए चुनावमा जान सबैलाई खुला छाडिदिने सभापति लामिछानेले सार्वजनिक रूपमा बताइसकेका छन्।
स्रोतका अनुसार पदाधिकारी चयनबारे सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच सोमबार राति छलफल भएको थियो।
रास्वपाले आकांक्षी बढ्दै गएपछि जारी महाधिवेशनबाटै आफ्नो विधान संशोधन गरेर पदाधिकारी संख्या १९ पुर्याएको छ। त्यसमध्ये ११ जना सभापतिबाटै मनोनयन गरिने व्यवस्था छ।
पदाधिकारीमध्ये सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। वरिष्ठ नेता बालेन शाहलाई प्रस्तावक राखेर उनले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्तापछि दुवैले निर्वाचन आयोग सचिवालयको बरन्डामा आएर हात हल्लाएका थिए।
सभापतिपछि दोस्रो वरीयताको वरिष्ठ नेता पदका लागि चुनाव हुने छैन। बालेन शाहकै लागि सिर्जना गरिएको यो पद उनकै लागि सुरक्षित राखिएको छ।
वरिष्ठ नेता पदकै निर्वाचन नहुने भएपछि बालेनले केन्द्रीय सदस्यका लागि पनि प्रतिस्पर्धा गर्नुपर्ने छैन। बालेन वा अन्य समूहबाट मनोनीत भएर पदाधिकारीमा आउनेहरूले पनि केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा गर्नुपर्दैन।
वरिष्ठ नेताभन्दा तल उपसभापति तीन जना (एक महिला) रहने व्यवस्था छ। त्यसमध्ये महिलासहित दुई जना खुला प्रतिस्पर्धा र एक जना मनोनयनबाट छानिने छन्।
मनोनयनबाट छानिनेमा बालेन समूहका भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल पर्न सक्ने स्रोतले बतायो। उनी प्रधानमन्त्री बालेनको निकट व्यक्तिमा पर्छन्। बालेनले केही दिनअघि ‘देश बनाउने टोली’ भनी सार्वजनिक गरेको तस्बिरमा आफूसहित सुधन गुरूङ र सुनील लम्साल थिए।
खुलातर्फको उपसभापतिमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गराउने तयारी भइरहेको स्रोतको दाबी छ। अर्थमन्त्री वाग्ले अहिले पनि पार्टीका उपसभापति नै छन्।
निर्वाचनबाटै छानिने महिला उपसभापतितर्फ एकभन्दा बढी दाबेदारी छ। धेरैजसो दाबेदारी सभापति लामिछाने समूहकै नेताहरूबाट आइरहेको छ।
यसमा खासगरी भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुनमन्त्री सोबिता गौतम र अहिले पार्टी कोषाध्यक्ष रहेकी लीमा अधिकारीको दाबेदारी रहेको स्रोतले बतायो।
यी तीनै जना रास्वपाका संस्थापक सदस्यहरू हुन्। सभापति लामिछानेलाई यी तीनमध्ये एक जनामा सहमति जुटाउन गाह्रो परिरहेको स्रोत बताउँछ।
यसबाहेक इन्दिरा राना मगर र चुनावअघि विवेकशील साझाबाट आएकी समीक्षा बाँस्कोटाले पनि उपसभापतिमा आकांक्षा राखेका छन्।
पदाधिकारी चयनमा सबभन्दा पेचिलो अवस्था महामन्त्रीमा देखिएको छ।
विधान अनुसार महामन्त्री दुई जना रहने छन्, जसमध्ये एक जना खुला प्रतिस्पर्धाबाट छानिन्छन् भने एक जना मनोनीन हुनेछन्।
मनोनीत हुनेमा बालेन शाहकै समूहबाट भूपदेव शाहको नाम चर्चामा छ। उनी अहिले पनि महामन्त्री नै छन्। बालेन समूह रास्वपामा समाहित भएपछि भूपदेवलाई सोझै महामन्त्री बनाइएको थियो। उनलाई यो महाधिवेशनपछि पनि त्यही पदमा निरन्तरता दिने कुरा भइरहेको स्रोतको भनाइ छ।
खुला प्रतिस्पर्धाबाट छानिने एक जना महामन्त्रीका लागि भने कम्तिमा चार जनाको दाबेदारी छ।
महामन्त्रीका चार आकांक्षीमा मनीष झा, शिशिर खनाल, विपिन आचार्य र कबिन्द्र बुर्लाकोटी छन्। यी चारै जना सभापति लामिछाने समूहका हुन्।
अहिले पार्टी प्रवक्ता रहेका मनीषा झाले सार्वजनिक रूपमै आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।
‘म बरू हार्न तयार छु, तर पछाडि हट्दिनँ,’ उनले भनेका छन्, ‘मैले पदका लागि भन्दा पनि अहिलेसम्म पार्टीको संगठनमा रहेर गरेको कामको न्यायका लागि उम्मेदवारी दिएको हुँ।’
उनी निकट नेताहरूले झाले आफ्नो दाबी फिर्ता नलिने बताउँदै मैदानमा भोट माग्न थालिसकेका छन्। उनले सभापति लामिछानेलाई समेत आफू उम्मेदवारीबाट पछाडि नहट्ने जानकारी दिइसकेको स्रोत बताउँछ।
त्यस्तै, परराष्ट्रमन्त्री रहेका शिशिर खनालले पनि आफ्नो उम्मेदवारीको सार्वजनिक घोषणा गरेका छन्।
उनले चुनाव हुने अवस्था आए आफू महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन्। ‘महामन्त्री पदलाई म न्याय गर्छु र आफ्नो जिम्मेवारी पूरा गर्छु भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेका छन्।
यसबाहेक महामन्त्रीका आकांक्षी कबिन्द्र बुर्लाकोटी अहिले पनि पार्टी महामन्त्री छन्। उनले यही पदमा निरन्तरता दिन चाहेका छन्। त्यस्तै, अहिलेका सहमहामन्त्री विपिन आचार्यले पनि महामन्त्रीको दाबेदारी गरिरहेका छन्।
विधान अनुसार सह-महामन्त्रीमा एक महिलासहित पाँच जना रहने व्यवस्था छ। यसमध्ये तीन जना खुला प्रतिस्पर्धाबाट छानिने छन् भने दुई जना मनोनीत हुनेछन्।
मनोनीत हुनेमा बालेन समूहबाट असीम शाहको नाम चर्चामा छ। त्यस्तै, विवेकशील साझा समूहबाट रञ्जु दर्शनाको नाम चर्चामा छ। विवेकशील साझा समूहकै समीक्षा बाँस्कोटालाई उपसभापतिमा प्रतिस्पर्धा नगराएर सह-महामन्त्रीमा मनोनीत गर्न पनि सकिने स्रोत बताउँछ।
बाँकी तीन जनामा हरि ढकाल, यज्ञमणि न्यौपाने, रमेश प्रसाईं, जगदिश खरेल लगायतको दाबेदारी छ। यज्ञमणि र रमेशले त सार्वजनिक घोषणा नै गरिसकेका छन्।
यसबाहेक पार्टी पदाधिकारीहरूमध्ये कोषाध्यक्ष एक जना, सह-कोषाध्यक्ष दुई जना (एक महिला), प्रवक्ता एक जना र सह-प्रवक्ता तीन जना (एक महिला) रहने व्यवस्था छ। यी ७ जना पदाधिकारी नै सभापतिले मनोनीत गर्ने छन्।
मनोनीत हुने ७ पदाधिकारीमा विवेकशील साझा, नागरिक उन्मुक्ति, हामी नेपाल लगायत विभिन्न समूहबाट आएका सदस्यहरूलाई समायोजन गर्ने तयारी रहेको स्रोतले बतायो। यसमा बालेन शाह समूहका केही नेता पनि पर्न सक्छन्।
‘चुनावअघि मात्र पार्टीमा समाहित हुनुभएका साथीहरूलाई समेटेर लैजान मनोनीत गरेर पदाधिकारीमा ल्याउन खोजिएको हो,’ पार्टीका एक उच्चस्तरीय नेताले भने, ‘केही सदस्य जेन-जी समूहबाट पनि ल्याउने तयारी छ।’
खुलातर्फ पनि सकभर मिलाएर लैजाने कोसिस भइरहेको उनले बताए।
‘हामी हदैसम्म सहमतिको प्रयास गरिरहेका छौं। एकदमै पेचिलो हुँदै गयो भने आ-आफ्नो इच्छा अनुसार प्रतिस्पर्धा गर्नू भनेर छाड्न सकिन्छ,’ उनले भने।
सभापति लामिछानेले पनि मंगलबार बन्द सत्र आरम्भ गर्ने क्रममा सबैलाई मिलाएर लैजाने प्रयास भइरहेको बताएका थिए।
‘पार्टीको पहिलो महाधिवेशन भएकाले सहमतिमा सबैलाई मिलाएर लैजाने कोसिस भइरहेको छ,’ उनले भने, ‘तर छनोटको विधिले मलाई एकदमै गाह्रो हुन्छ। कसलाई छान्ने? एउटालाई छाने अर्को छुटिहाल्छ। त्यसैले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आयो भने स्वस्थ रूपमा प्रतिस्पर्धा गर्नू।’
‘जसले जिते पनि घन्टीवाहकले जित्ने हो। त्यसैले प्रतिस्पर्धामा जानुपर्ने अवस्था आए गुट-उपगुटमा नलाग्नू,’ सभापति लामिछानेले भने।
उनले मनमुटाव छन् भने त्यसलाई कोठामा बसेर छलफल गर्न पनि आह्वान गरेका छन्।
‘सडकमा तमासा बनाउने होइन। समस्या भए सुल्झाऊँ, सडकमा तमासा नबनाऔं,’ उनले भने।
यसबीच रास्वपाको जारी महाधिवेशन बन्द सत्र सम्पन्न गरी निर्वाचन कार्यक्रममा प्रवेश गरिसकेको छ। सोमबार हुनुपर्ने बन्द सत्र र निर्वाचन प्रक्रिया महाधिवेशन प्रतिनिधिहरूको नामावली टुंगो लाग्न नसकेर एक दिन ढिला भएको हो।
पहिलो चरणमा सभापति र केन्द्रीय समितिका सदस्यहरूका लागि बुधबार बिहानबाट मतदान सुरू गर्ने गरी संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। पहिलो चरणको मतगणना सम्पन्न भएपछि पदाधिकारीहरू चयन गर्न दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी-विरोध र अन्तिम नामावली प्रकाशनको काम मंगलबार रातभरिमा सम्पन्न गरिनेछ।
संशोधित तालिका अनुसार पार्टी केन्द्रीय सदस्य पदका लागि साँझ ७:३० देखि बेलुकी ९:३० बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता भइरहेको छ।
उम्मेदवारी दर्ता सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि राति १०:३० बजेसम्म उम्मेदवारहरू विरूद्ध दाबी-विरोध गर्ने समय दिइएको छ।
प्राप्त दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको छ।
मंगलबारै राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू हुने निर्वाचन आयोगले जनाएको छ।
त्यसपछि भोलि असार १० गते बिहानदेखि पहिलो चरणको मतदान सुरू हुनेछ।
पहिलो चरणको मतदान सम्पन्न भएको दुई घन्टापछि मतगणना सुरू गरी परिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

