रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए।
‘थप तीन जना नेपालीको मृत्यु भएको सूचना पाएका छौं,’ उनले सेतोपाटीसँग भने। स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु भएको जानकारी आएको उनको भनाइ छ।
स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन्।
‘मलाई सरकारी संयन्त्रबाटै वालिङ–१४ का हरिप्रसाद अर्यालको मृत्यु भएको र आवश्यक कागजात पठाइन लागेको जानकारी आएको थियो,’ वडाध्यक्ष राजु कुँवरले भने।
उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले जानकारी दिए।
‘अर्याल दुबई हुँदै त्यहाँ पुग्नुभएको रहेछ। चार दिन दुबईमा ट्रान्जिट पारेर रूस पुगेको र त्यहाँको फौजमा भर्ती भएको खुलेको छ,’ उनले भने।
अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए। ‘उहाँ तीन वर्षजति नेपाली सेनामा कार्यरत रहेको र भर्खरै जागिर छाडेको खुल्न आएको छ,’ उनले भने।
अनौपचारिक माध्यमबाट यसअघि नै अर्यालको मृत्युको खबर आए पनि सरकारी संयन्त्रले अहिले त्यसको पुष्टि गरेको उनको भनाइ छ। ‘अर्याल तीन दाजुभाइमध्ये कान्छो हुन्,’ उनले भने।

