काभ्रे हेटौँडा जोड्ने छोटो दुरीको सडक शिलान्यास


काभ्रे । बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडक शिलान्यास गरिएको छ । बिपी राजमार्गको कटुन्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौँडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।

शनिबार एक कार्यक्रमका बिच प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिला तथा योजना मन्त्री लामाले प्रदेश सरकारमा साना योजनाका माग धेरै भएकाले समस्या भएको बताए । उनका अनुसार प्रदेश सरकारले २० लाख रुपैयाँ भन्दा कम बजेटका योजनामा प्रदेशबाट विनियोजन गरिएको छैन ।

३ तहका सरकारबिच समन्वय अभाव हुँदा विकास निर्माणका योजनामा दोहोरोपना नहुने गरेको उनको भनाइ छ । प्रदेश सरकारले आगामी दिनमा सबैले देखिने, सुनिने र अनुभव गर्ने खालका आयोजना थालिने उनको भनाई छ ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री दुलालले ६ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर काम अघि बढाइएको बताए । प्रादेशिक सडकलाई प्राथमिकताका आधारमा पक्की बनाउन कालोपत्रे गर्दै लैजाने योजनामा प्रदेश सरकारले तयार गरेको उनले बताए ।

कटुन्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौँडा जाने प्रादेशिक सडक प्रदेशको एकल श्रोतमा ठेक्का लागेको प्रदेशकै ठूलो योजना रहेको उनको भनाइ छ । भौगोलिक विकट र धेरै जनसङ्ख्याका आधारमा काभ्रेमा प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको उनले बताए ।

कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री लामाले १०–१२ वर्ष अघि चन्दा उठाएर सुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताए । जनताले आफूलाई प्रतिनिधिको रूपमा अनुमोदन गरेको भन्दै नागरिकहरूको जीवनस्तर उकास्न प्रयत्नरत रहने समेत प्रतिबद्धता जनाए । काभ्रे क्षेत्र नम्बर १ भौगोलिक रूपमा विकट क्षेत्रको विकास आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने र त्यसका लागि पहल गर्ने उनले बताए ।


प्रकाशित मिति : २०८० पुष १, आईतवार गते

धेरै पढिएको

ताजा समाचार