काठमाडौं । पूर्वमिस नेपाल आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सक्रिय राजनीति गर्ने घोषणा गरेकी छिन् । राजधानीमा आयोजित राप्रपाको कार्यक्रममा उनले युवा र पूर्वमिस नेपाल भएकाले देशको लागि काम गर्नु आफ्नो मूल दायित्व रहेको उनले बताएकी छन् ।
अब युवाले के चाहन्छन् भन्ने कुराले आफू उत्साहित रहेको जनाउँदै अस्मीले पार्टीको काठमाडौं कमिटीसँग नजिक रहेको आगामी दिनमा काम गर्ने बताइन् ।
उनले भनिन्, ‘आउने दिनमा म काठमाडौंको कमिटीसँग नजिक रहेर काम गर्न चाहन्छु । एक देशको युवा, पूर्वमिस नेपालको दायित्वले पनि देशको लागि काम गर्नु मुल दायित्व हो भन्ने मेरो मान्यता छ । अब युवाले के चाहन्छन् भन्ने कुराले अघि बढ्न म अति नै उत्साहित छु ।’
सो कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले बोलेका थिए । केही वर्षअघि राप्रपाले आस्मालाई युवा केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । मिस नेपालको भूमिकामा काम गर्नुपर्ने भएकाले त्यतिबेला उनी सक्रिय राजनीतिमा देखिएकी थिइनन् ।

