विश्व च्याम्पियन अर्जेन्टिना डेब्यु टोली केप भर्डेमाथि अतिरिक्त समयमा ३-२ को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ।
मियामीमा भएको रोमाञ्चक खेलमा कप्तान लियोनेल मेस्सीले ३०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
लिसान्द्रो मार्टिनेजको लामो पासलाई सुन्दर ढंगले नियन्त्रण गरेपछि मेस्सीले नजिकबाट गोल गरे। जारी विश्वकपमा सातौं गोल गरेका मेस्सीको समग्रमा यो २० औं गोल हो। तर केप भर्डेले हार मानेन। ५९ औं मिनेटमा रायन मेन्डेसको क्रसमा डेरोय डुआर्टेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि गोलकिपर भोजिन्हाले लगातार उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई निराश बनाए भने पिको लोपेसले गोललाइनबाट बल क्लियर गर्दै टोलीलाई खेलमा कायम राखे।

अतिरिक्त समयको दोस्रो मिनेटमा मेस्सीको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत अघि बढाएपछि लिसान्द्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए।
तर केप भर्डेले फेरि उत्कृष्ट पुनरागमन गर्यो। सिड्नी लोपेस काब्रालले म्याक एलिस्टरलाई छल्दै प्रतियोगिताकै उत्कृष्टमध्ये एक गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए।
यद्यपि १ सय ११औँ मिनेटमा डिने बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाको जितका लागि निर्णायक बन्यो। यससँगै अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग भेट पक्का गरेको छ।

यो खेलसँगै ३९ वर्ष ९ दिनका लियोनेल मेस्सी विश्वकपको नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका दक्षिण अमेरिकी खेलाडी बने। उनले उरुग्वेका ओब्दुलियो भारेलाको सन् १९५४ देखि कायम रहेको कीर्तिमान तोडेका हुन्। इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो।

