२२ असार, डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-०५ गैरीगाउँमा आइतबार बिहान आएको बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् कमाण्ड पोस्टमार्फत राहत सामग्री हस्तान्तरण गरिएको छ ।
उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपतकालीन सञ्चालन केन्द्रको समन्वयमा संकलन गरिएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायालाई हस्तान्तरण गरेकी हुन् । गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई उक्त राहत वितरण गर्ने जनाएको छ।
हस्तान्तरण गरिएको राहतमा २५ थान त्रिपाल, ५ बोरा चिउरा, १ बोरा भुजा, ६ कार्टुन चाउचाउ, २ कार्टुन बिस्कुट, १० थान कम्बल, ६ थान बाल्टिन, ८ थान जग, २२ थान शाल, ५ थान डेग्ची, १ थान पाल, १५ थान पाइन्ट, ३० थान बालबालिकाका सर्ट–पाइन्ट, १५ थान महिला स्वेटर, १६ जोर जुत्ता, ५० जोर चप्पल तथा नगद ४२ हजार ५ सय १५ रुपैयाँ रहेको छ ।
यसअघि नै जगदुल्ला गाउँपालिकाले आफ्नै स्रोतबाट बाढीपीडितका लागि ४ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ। गाउँपालिका अध्यक्ष नारासिंह रोकायाका अनुसार पूर्ण रूपमा विस्थापित परिवारलाई प्रतिघरधुरी ३० हजार रुपैयाँका दरले २ लाख ४० हजार रुपैयाँ, आंशिक क्षति व्यहोरेका १९ घरधुरीलाई प्रतिघरधुरी १० हजार रुपैयाँका दरले १ लाख ९० हजार रुपैयाँ वितरण गरिएको छ। बाढीमा ज्यान गुमाएकी आनन्दी विकको परिवारलाई थप ५० हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अनुसार बाढीबाट ३५ घरधुरी प्रभावित भएका छन् भने ७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन्। हाल प्रभावित परिवारलाई आफन्तका घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन गरिएको छ। लगातारको वर्षापछि धुलाखोला र आसपासका खोल्सामा आएको हिलोसहितको बाढी गाउँमा पस्दा घर, अन्नपात तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुगेको थियो ।
गाउँपालिका अध्यक्ष रोकायाले राहत वितरणसँगै प्रभावित परिवारको पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।

