भुइँचालोमा २९ फिट मुनि पुरिएका सुरक्षागार्डको ८ दिनपछि जीवित उद्धार


गुस्भिमार गोन्जालेजले आफ्ना श्रीमान् जीवित फर्किएलान् भन्ने आश मारिसकेकी थिइन्।

गत बुधबार उज्यालो नहुँदै भूकम्पको दुई शक्तिशाली धक्काले उनका श्रीमान ४३ वर्षीय हर्नान अल्बर्टो काम गर्ने ९ तले सपिङ मल गर्ल्यामगुर्लुम्मै ढलेको थियो।

भेनेजुएलाको ग्वाइरामा रहेको उक्त सपिङ मलमा हर्नान सुरक्षागार्डको काम गर्थे। भूकम्पले ढालेको त्यही भवनको भग्नावशेषमा उनी पुरिए।

सामान्यतया पुरिएको ७२ घन्टाभित्र उद्धार भए मान्छे जीवित रहने सम्भावना बढी हुन्छ भन्ने मान्यता छ।

तर कंक्रिटका विशाल स्ल्याब, फलामका डण्डी र धुलोको उरूङमा पुरिएका हर्नान जीवित छन् भन्ने कल्पना उनका परिवारले कसरी गरून्?

तै पनि गुस्भिमारले आफ्ना श्रीमान् जीवितै फर्केर आऊन् भनेर प्रार्थना गर्न छाडेकी थिइनन्।

भूकम्प गएको पाँच दिनपछि एउटा आश्चर्य भयो—   कसैले सपिङ मलको भग्नावशेषमा मानिस जीवित रहेको सूचना उद्धारकर्ताहरूलाई दियो। उद्धारकर्ताले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएर तत्काल घटनास्थलमा खटियो।  टोलीले रडार, सोनार र ध्वनि पत्ता लगाउने उपकरण लिएर उद्धार टोली सपिङ मलको भग्नावशेषमा गयो।

साँच्चिकै त्यहाँ कोही जीवित व्यक्ति रहेको पुष्टि भयो र उनी हर्नान थिए।

उद्धार टोलीले एउटा सानो क्यामेरा भग्नावशेषभित्र पठायो। क्यामेराले कैद गरेको दृश्यले सबैको मन छोएको थियो। भग्नावशेषको २९ फिट मुनि उनी बाँच्नका लागि संघर्ष गरिरहेका थिए।

बाक्लो कंक्रिटका स्ल्याबको बीचमा बनेको सानो प्वालबाट हर्नानका औँलाहरू हल्का हल्लिरहेका देखियो। त्यो उनी जीवित रहेको प्रमाण थियो त्यो। उद्धारकर्मीले यसलाई ‘चमत्कार’ भने, गुस्भिमारले आफ्नो प्रार्थना भगवानले सुनेको भनिन्।

त्यसपछि उद्धारकर्मीहरूले एउटा सानो पाइप र सिरिन्जको सहायताले हर्नानलाई भग्नावशेषभित्रै पानी, खाना र औषधि पुर्‍याउन थाले। उनीसँग लगातार संवाद भइरह्यो, जसले उद्धार अभियानलाई थप सावधानीका साथ अघि बढाउन मद्दत गरेको थियो।

त्यसपछि भेनेजुएला, चिली, एल साल्भाडोर, कोस्टारिकालगायत करिब आधा दर्जन देशका उद्धारकर्मीहरू तीन दिनसम्म पालैपालो जोखिमपूर्ण सुरुङ खन्दै उनलाई सुरक्षित बाहिर निकाल्ने प्रयासमा जुटे।

भवन अझै भत्किन सक्ने जोखिम पनि थियो। सुरूङ पनि पटकपटक भत्किएको थियो। लगातार आठ दिनसम्म कंक्रिटका विशाल स्ल्याब, फलामका डण्डी र धुलोले पुरिएको अन्धकारमा एक मानिस जीवनसँग संघर्ष गरिरहेका थिए।

बाहिर भने उनकी श्रीमती हरेक दिन आँसु पुछ्दै एउटै प्रार्थना गरिरहेकी थिइन्। बिहीबार त्यो प्रार्थनाले अन्ततः उत्तर पायो।

उद्धारको अन्तिम भिडियोमा हर्नानको टाउको र काँध भग्नावशेषबाट बिस्तारै बाहिर निस्किरहेको देखिन्छ। अनुहारमा अक्सिजन मास्क थियो। एउटा आँखा रातो देखिन्थ्यो। तर उनी जीवित थिए।

४३ वर्षीय सुरक्षा गार्ड हर्नान अल्बर्टो गिल फ्लोरेसलाई उद्धारकर्मीहरूले भत्किएको नौतले भवनको भग्नावशेषबाट जीवितै बाहिर निकाले।

दुई शक्तिशाली भूकम्पले तहसनहस बनाएको भेनेजुएलामा यो उद्धारलाई उद्धारकर्मीहरूले नै ‘चमत्कार’ को संज्ञा दिएका छन्।

उनलाई बाहिर निकाल्न मात्रै ७० घण्टाभन्दा बढी समय लागेको चिलीको दमकल विभागले जनाएको छ। उद्धारपछि उनलाई तत्काल अस्पताल लगिएको छ र उनको अवस्था स्थिर रहेको अधिकारीहरूले बताएका छन्।

भेनेजुएला रेडक्रसका प्यारामेडिक लुइस रोड्रिगेजका अनुसार एम्बुलेन्समा राख्नेबित्तिकै हर्नानको स्वास्थ्य अवस्था सामान्य थियो।

‘उहाँ पूरै होशमा हुनुहुन्थ्यो। हामीसँग कुरा गरिरहनुभएको थियो। सबै जीवनचिन्ह सामान्य थिए,’ उनले रोयटर्ससँग भनेकी छन्।

तर सबैभन्दा भावुक क्षण भने उद्धारअघि उनकी श्रीमती गुस्भिमार गोन्जालेजले व्यक्त गरेको आशा थियो।

उद्धार सफल हुनुअघि सीएनएनसँग कुरा गर्दै उनले भनिन्, ‘यी केही दिन मेरो जीवनका सबैभन्दा पीडादायी दिन थिए। मलाई लाग्थ्यो उहाँ अब यो संसारमा हुनुहुन्न। तर उहाँ जीवित हुनुहुन्छ भन्ने थाहा पाएपछि फेरि जीवनमा घाम लागेको महसुस भयो। उहाँ त साँच्चै नायकझैँ संघर्ष गरिरहनुभएको रहेछ।’

उनले थपिन्, ‘उहाँका छोराछोरी घरमा उहाँलाई पर्खिरहेका छन्।’

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सार्वजनिक गरेको भिडिओमा एक उद्धारकर्मीले हर्नानलाई सोध्छन्, ‘तपाईंलाई चोट लागेको छ?’ हर्नान शान्त स्वरमा जवाफ दिन्छन्, ‘होइन, चोट लागेको छैन। ढुंगाहरूका कारण असहज मात्रै भइरहेको छ।’

संयुक्त राष्ट्रसंघको विपद् मूल्याङ्कन तथा समन्वय टोलीका सदस्य सेबास्टियन मोकोर्केरले भने, ‘भूकम्पपछि सात दिन बितेपछि हुने जीवित उद्धार प्रायः चमत्कारकै श्रेणीमा पर्छ। सामान्यतया पहिलो तीन दिनलाई ‘गोल्डेन विन्डो’ मानिन्छ। त्यसपछि पानी नपाए जीवित रहने सम्भावना तीव्र रूपमा घट्छ।’

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उद्धारपछि भनिन्, ‘आज हामी हर्नान गिलको जीवनको उत्सव मनाइरहेका छौँ। यो अभियानमा आफ्नो शरीर, समय र आत्मा समर्पण गर्ने स्वदेशी तथा विदेशी सबै उद्धारकर्मीलाई धन्यवाद।’

हर्नान भेटिएको ला ग्वाइरा शहर भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। उद्धार अभियान अझै जारी छ। इन्धन र उपकरणको अभावबीच मानिसहरू कतै कुटो, कतै बेल्चा र कतै आफ्नै नाङ्गा हातले भग्नावशेष हटाइरहेका छन्।

सरकारी तथ्यांकअनुसार भूकम्पमा कम्तीमा २ हजार २९५ जनाको मृत्यु भइसकेको छ। तर वास्तविक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनसँग कुरा गरेका एक फरेन्सिक चिकित्सकका अनुसार ला ग्वाइरास्थित अस्थायी शवगृहमा मात्रै दैनिक करिब ४०० शव ल्याइँदै छन्।

तर हजारौं मृत्यु र विनाशको बीचमा हर्नान गिलको उद्धारले एउटा सन्देश दिएको छ— आशा कहिलेकाहीँ आठ दिनसम्म पनि सास फेरिरहन्छ।


प्रकाशित मिति : २०८३ असार १९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार