सरकारले २०४८ सालपछिकै ठूलो कर तथा आर्थिक सुधारको प्याकेज ल्याएको छ: अर्थमन्त्री वाग्ले


अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले २०४८ सालपछिकै सबैभन्दा ठूलो कर तथा आर्थिक सुधारको प्याकेज ल्याएको बताएका छन्।

सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले आन्तरिक उत्पादन प्रवर्द्धन, कर सुधार, डिजिटल रूपान्तरण तथा लगानीमैत्री वातावरण निर्माणलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए।

उनका अनुसार स्वदेशी उद्योगलाई संरक्षण र उत्पादन वृद्धि गर्न करिब ३०० वस्तुमा आन्तरिक उत्पादन प्रवर्द्धन शुल्क लगाइएको छ।

साथै, लगानीकर्तालाई सकारात्मक सन्देश दिन उच्च आयकरको दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको छ।

वाग्लेले कर छली गर्दै आएका विभिन्न पेसा तथा व्यवसायलाई करको दायरामा ल्याइने जानकारी दिए।

सरकारी दैनिक सञ्चालन खर्च तथा फजुल खर्च नियन्त्रण गर्दै मितव्ययिता अपनाइने उनले बताए।

स्वदेशी प्रविधि विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले नेपाली आइटी जनशक्तिमार्फत सरकारी सफ्टवेयर तथा हार्डवेयर विकास गरी दशौँ अर्ब रूपैयाँ बचत गर्ने लक्ष्य लिइएको बताए।

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै आफ्नै इन्क्रिप्टेड मेसेजिङ सेवा सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको उनको भनाइ थियो।

कानुनी सुधारअन्तर्गत २०१७, २०२१ र २०३२ सालका पुराना तथा असान्दर्भिक कानुन खारेज गरिएको उनले बताए।

साथै हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग तथा ठूला सिँचाइ आयोजनाहरू आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।

सरकारको नियमित बजेटले मात्र विकासका आवश्यकता पूरा गर्न नसक्ने भएकाले वैकल्पिक वित्त परिचालनमार्फत बाह्य लगानी तथा पुँजी भित्र्याउने नीति लिइएको वाग्लेले बताए।

अर्थतन्त्रमा रहेका सिन्डिकेट तथा दोहन अन्त्य गरी स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरिने उनको भनाइ थियो।

डिजिटल सेवा विस्तारअन्तर्गत नागरिक एपमार्फत कम्तीमा १०० सरकारी सेवा घरबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिने उनले बताए।

साथै देशभरका ३ लाख १३ हजार दलित बालबालिकाका लागि पौष्टिक आहार कार्यक्रम सञ्चालन गरिने र गरिबी निवारणका लागि मर्यादित तथा उत्पादनशील रोजगारी सिर्जनामा जोड दिइने उनले उल्लेख गरे।


प्रकाशित मिति : २०८३ जेष्ठ २२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार