गाउँपालिका उपाध्यक्षलाई दुर्व्यवहार र आक्रमण प्रयास गरिएको भन्दै गुल्मीमा महिलाहरूको प्रदर्शन


गुल्मीका विभिन्न संघसंगठनमा आबद्ध महिलाहरूले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्।

गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरमाथि दुई साता पहिले भएको दुर्व्यवहार तथा आक्रमण प्रयासका विरूद्ध जिल्लाका संघसंगठनमा आबद्ध महिला तथा महिला जनप्रतिनिधिहरू आन्दोलित भएका हुन्।

उनीहरूले उपाध्यक्ष कुँवरमाथि आक्रमण गर्न खोज्ने समूहलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र समग्र महिलाहरूको सुरक्षाको माग राख्दै प्रदर्शन गरेका हुन्।

शुक्रबार दिउँसो सयौँ महिलाहरूको समूहले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

उनीहरूले स्थानीय प्रहरी प्रशासनले महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार र आक्रमण प्रयास गर्नेहरूलाई कारबाही गर्न पहल नगरेको भन्दै जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी विरूद्ध नाराबाजी सहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा आन्दोलित महिलाहरू र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।

गत जेठ ८ गते गुल्मीकै मालिका गाउँपालिका वडा नं. ८ कुटी सिमल टारीमा आयोजित एक सत्सङ्ग कार्यक्रममा सहभागी हुन गएकी इस्मा गाउँपालिकाकी उपाध्यक्ष कुँवर सहित कर्मचारीमाथि केही समूहले योजनाबद्ध रूपमा आक्रमणको प्रयास गरेको उनीहरूको आरोप छ।

स्थानीयका अनुसार सिमल टारीमा आयोजित सत्सङ्गबाट फर्किँदै गर्दा स्थानीय केही युवाहरूको समूहले राति १० बजेतिर उपप्रमुख चढेको गाडी रोकेर केरकार पारेका थिए। गाउँपालिकाको सरकारी गाडी कार्यालय समयभन्दा बाहिर उपप्रमुखले चढेको भन्दै उक्त समूहले सवारी पास मागेका थिए।

गाउँपालिकाको प्रतिनिधिको रूपमा उपाध्यक्ष सहित कर्मचारीहरू कुनै कार्यक्रममा गएर फर्किँदै गर्दा भएको आक्रमण प्रयासले समग्र महिलाहरूकै सुरक्षामाथि नै प्रश्न उब्जाएको भन्दै उनीहरूले उक्त कार्यमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिनुको साथै महिला जनप्रतिनिधि र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित मिति : २०८३ जेष्ठ २२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार