प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर उत्पन्न कूटनीतिक प्रश्नलाई कसरी हल गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय नै असमञ्जसमा परेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा जान लागेको पूर्वसन्ध्यामा प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनुले पनि परराष्ट्र मन्त्रालयलाई थप अलमलमा पारेको अधिकारीहरू बताउँछन्।
रास्वपा सभापति लामिछाने तीन सदस्यीय टोलीसहित सोमबार भारत भ्रमणमा जाँदैछन्। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ। त्यसैको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले भारतीय जग्गा मिचिएको कुरा उठाउँदा यही विषय दिल्लीले पनि उठाए के जबाफ दिने भन्ने परराष्ट्रलाई अन्यौल परेको हो।
आइतबारको बैठकमा एक्कासि प्रश्न-उत्तरका लागि उपस्थित भएका प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा मिचेको विषय आफूले थाहा पाएको बताएका हुन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुरा सीमा विवादबारे सोधेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘यो विषय कूटनीतिक रूपमा टेबल टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला। मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’
‘यो कुरा मलाई अस्ति भर्खर थाहा भयो,’ उनले अगाडि भने, ‘हामीले मिचेका छौं, उहाँहरूले मिच्नुभएको छ। बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौं।’
अहिलेसम्म औपचारिक वा अनौपचारिक रूपले कहीँ पनि कहिल्यै नसुनिकएको यस्तो कुरा स्वयं प्रधानमन्त्रीबाट संसदमा अभिव्यक्त भएपछि त्यसले विवाद निम्त्याएको हो
प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् भने परराष्ट्र मन्त्रालयलाई पनि ‘नेपालले कहाँ कहाँ भारतको जग्गा मिच्यो?’ भन्ने प्रश्नको जबाफ दिन अप्ठ्यारो परेको छ।
सीमा विवादको विषय सबभन्दा पहिला परराष्ट्र मन्त्रालयसँग ठोक्किन्छ। त्यही भएर प्रधानमन्त्रीको अभिव्यक्तिपछि धेरैले यसबारे प्रश्न सोध्न थालेको परराष्ट्रका अधिकारीहरू बताउँछन्।
तर ती प्रश्नकर्तालाई के जबाफ दिने भन्ने परराष्ट्रलाई पनि थाहा नभएको पाइएको छ। यसले भारतसँगको कूटनीतिक सम्बन्धमा उत्पन्न गर्न सक्ने विवाद कसरी हल गर्ने भन्ने अर्को समस्या परेको परराष्ट्रका एक अधिकारीले बताए।
अर्का एक उच्च अधिकारीले भने प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा क्षेत्रमा हुने क्रस होल्डिङ (सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सीमापारि पनि जग्गा हुनसक्ने) विषयमा बोलेको हुनसक्ने आकलन गरे।
‘प्रधानमन्त्रीले सायद सीमा क्षेत्रमा भएको जग्गाको क्रस होल्डिङबारे बोल्नुभएको हुनसक्छ,’ सेतोपाटीसँग कुरा गर्दै परराष्ट्रका एक अधिकारीले भने, ‘हामी यसबारे छलफल गरेर प्रस्ट पार्ने तयारी गरिरहेका छौं।’
उनका अनुसार परराष्ट्र मन्त्रालयले भारतको जग्गा मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट गर्दै विज्ञप्ति जारी गर्ने तयारी गरिरहेको छ।

