रास्वपाले बोलायो सचिवालय बैठक


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आइतबार बेलुकी ८ बजे सचिवालय बैठक भर्चुअल रूपमा बस्नेछ। आजको बैठकमा ९ कार्यसूचीमाथि छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिबारे समीक्षा हुनेछ। महाधिवेशनको तयारीले पनि विषय प्रवेश पाउने छ। यस्तै पार्टी सभापति रवि लामिछानेको भोलिबाट सुरू हुने भारत भ्रमणबारे पनि छलफल हुने सम्भावना छ।

भारतीय जनता पार्टीको निमन्त्रणमा सभापति लामिछाने सोमबार भारत जाँदैछन्। लामिछाने जेठ २० गते फर्कने कार्यतालिका छ।

आजको बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनबारे छलफल गर्ने कार्यसूची छ। यस्तै आजको बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधिबारे पनि छलफल हुनेछ। महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति गठन गर्ने कार्यसूची रहेको बुर्लाकोटीले जानकारी दिए।

आजको बैठकमा महाधिवेशन निर्वाचन कार्यविधि र विधान संशोधनबारे पनि छलफल हुनेछ। आजको बैठकले यी दुई दस्तावेज पारित गर्ने सम्भावना छ। रास्वपाले संघीय सांसदहरूलाई पनि पार्टी जिम्मेवारी दिने तयारी गरेको छ। यसको खाका आजको बैठकले तय गर्नेछ।

यस्तै विविध प्रस्तावअन्तर्गत जिल्ला अधिवेशन कार्यविधिमा संशोधन गर्ने,प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने, सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुनेलगायत नयाँ प्रावधानमाथि आज छलफल हुने रास्वपाले बताएको छ।


प्रकाशित मिति : २०८३ जेष्ठ १७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार