नेपाल र भारतमा खिचिने ‘जूबा’ फ्लोरमा


७५ दिनको सेड्युलसहित फिल्म ‘जूबा’को छायांकन सुरू गरिएको छ। अस्त्र फिल्मस्को प्रस्तुति रहने फिल्मको छायांकन सर्लाहीबाट सुरू भएको हो।

बुधबार शुभमुहूर्त गर्दै छायांकन सुरू भएको फिल्म सर्लाही र काठमाडौंसँगै भारतको राजस्थानमा पनि खिचिनेछ। ७५ दिनको छायांकन तालिका तय गरिएकाले फिल्म पूर्ण रूपमा सिनेम्याटिक शैलीमा निर्माण हुने संकेत देखिएको छ। लोकेसन र छायांकन अवधि दुवैले फिल्मको क्यानभास ठूलो हुने अनुमान गर्न सकिन्छ।

‘जूबा’मा मुख्य भूमिकामा सौगात मल्ल रहनेछन्। प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्ममा पटकथा लेखन वर्षा पौडेलको रहनेछ। निर्देशक कर्ण र लेखक वर्षा दुवै क्रिएटिभ प्रोड्युसरको भूमिकामा पनि रहेका छन्।

यस फिल्ममार्फत सोफी धरेलले अभिनेत्रीको रूपमा डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै मुख्य भूमिकामा सुधन पोखरेल पनि देखिनेछन्। यो उनको तेस्रो फिल्म भए पनि मुख्य भूमिकामा भने पहिलो पटक अभिनय गर्न लागेका हुन्।

रक क्यासल स्टुडिओको निर्माण रहने फिल्म घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर यसअघि नै सार्वजनिक भइसकेका छन्।

एक पोस्टरमा सौगात मल्ल मात्र देखिएका छन्, जहाँ उनी क्यामेराअगाडि उभिएर नमस्ते गरिरहेका छन्। अर्को पोस्टरमा उनी पिसिओमा उभिएर फोनमा कुरा गरिरहेका छन्। ल्यान्डलाइन फोन र कलाकारहरूको गेटअपले फिल्मको कथा करिब दुई दशकअघिको समय सन्दर्भमा आधारित हुने संकेत गर्छ। उक्त पोस्टरमा सोफी केही रिसाएकी देखिन्छिन् भने सौगात फोनमा व्यस्त देखिन्छन्।

तेस्रो पोस्टरमा सुधन पोखरेल खलपात्रको भूमिकामा देखिएका छन्। सिगार तानिरहेको उनको लुक्सले उनी शक्तिशाली भिलेनको भूमिकामा रहने अनुमान हुन्छ।

फिल्मको कथा, अन्य कलाकार तथा प्राविधिक पक्षबारे भने निर्माण टिमले हालसम्म थप जानकारी सार्वजनिक गरेको छैन।


प्रकाशित मिति : २०८३ बैशाख १७, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार