प्रधानमन्त्री बालेन शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू अहिले धमाधम सम्पर्कमा आउन थालेका छन्।
शनिबार बिहानैबाट सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेपछि उनीहरू डर र अन्यौलका कारण सामानसहित विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू पनि सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला आइरहेका छन्।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।
आइतबार २ बजेसम्म कुल ३११ सुकुम्बासी परिवारले रंगशाला आएर आफ्नो विवरण टिपाएका छन्। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।
समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्। यी दुई निकायमध्ये उपत्यका विकास प्राधिकरणले १४६ परिवारको विवरण टिपेको छ भने अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १६५ परिवारको विवरण टिपेको छ।
रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
यसरी विवरण संकलन गरिसकेपछि भूमिहीन र आवासहीनहरूको व्यवस्थापन गर्न पाँचवटा होल्डिङ सेन्टरमा लगेर राखिने बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए। अहिले यहाँ शनिबारको तुलनामा भिडभाड एकदमै बढेको छ। थापाथलीबाट विस्थापित सुकुम्बासीहरू धेरैजसो यहाँ आइसकेका छन् भने सिनामंगल, गैरीगाउँ, शान्तिनगरबाट पनि आउने क्रम सुरू भएको छ। आइतबार बिहानबाट सिनामंगल, गैरीगाउँ, शान्तिनगर क्षेत्रका बस्तीबाट आउनेको संख्या ह्वात्तै बढेको यहाँका अधिकारीहरू बताउँछन्।
अहिलेसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी छ।
शनिबार फारम भराइएकामध्ये ३१ परिवारलाई कीर्तिपुर पठाइएको थियो।
कीर्तिपुरको सत्संग भवनमा सुकुम्बासी राख्न होल्डिङ सेन्टर बनाइएको छ। ३१ परिवार बसेको होल्डिङ सेन्टरको भरिएका कारण बाँकीलाई अन्यत्रै व्यवस्थापन गरिएको थियो।

